२०८३, बैशाख २९ गते

May 12 2026 | २०८३, बैशाख २९ गते

‘सुकुम्बासी समस्या समाधानका नाममा नागरिकलाई बेघरबार बनाउने काम भइरहेको छ’

आइतवार , बैशाख २०, २०८३

  • 955
    Shares
  • 955
    Shares
  • रुपन्देही, २० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्वासी समस्या समाधान गर्ने नाममा नागरिकलाई बेघरबार बनाउने काम भइरहेको टिप्पणी गर्नुभएको छ ।

    प्रगतिशील लेखक संघ रुपन्देहीद्वारा आइतबार रुपन्देहीको बुटवलमा आयोजित नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित ‘अठोट’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो ।

    उहाँले भूमिहीन र सुकुम्बासीको समस्या समाधान नागरिकलाई विस्थापित गरेर सम्भव नहुने स्पष्ट पार्नुभयो । ‘पहाडबाट झरेर यहाँ बसोबास गरेका, मेहनत गरेर घडेरी जोहो गरेका र विदेश गएर घर बनाएका मानिसहरु अव्यवस्थीत बसोवासी हुन् । उनीहरुलाई हुकुमबासीको नाम दिएर जबरजस्ती घरमाथि डोजर चलाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो,‘अब यस्ता नागरिकको अवस्था के हुने भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

    मुख्यमन्त्री आचार्यले अव्यवस्थित बसोबासलाई आधार बनाएर नागरिकलाई अलपत्र पार्ने काम राज्यको जिम्मेवारी नभएको उल्लेख गर्नुभयो । ‘रुपन्देहीको अवस्था के हुन्छ ? नागरिकलाई अलपत्र पार्ने, बिल्लिवाठ बनाउने काम राज्यले गर्न मिल्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।

    उहाँले अव्यवस्थित बसोबासीलाई पुराना राजनीतिक दलका कार्यकर्तासँग जोडेर गलत व्याख्या गर्न खोजिएको भन्दै यस विषयमा बुद्धिजीवीहरुले आवाज उठाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा मुख्यमन्त्री आचार्यले विगत दशकमा मुलुकको विकास र समृद्धिमा उल्लेख्य प्रगति भएको दावी गर्दै विकासको प्रभावकारी मोडल प्रस्तुत गर्ने व्यक्तिका रूपमा लेखक भोजप्रसाद श्रेष्ठको प्रशंसा गर्नुभयो । ‘नगरप्रमुख रहँदा उहाँले देशकै ध्यानआकर्षित गर्ने गरी काम गर्नुभयो । नतिजा दिने नेताको रूपमा उहाँ स्थापित हुनुभएको छ,’

    उहाँले भन्नुभयो,‘भोजप्रसाद श्रेष्ठको अनुभव र क्षमतालाई सही ढंगले उपयोग गर्न सके लुम्बिनी प्रदेशलाई ठूलो लाभ पुग्छ ।’ उहाँले ‘अठोट’ पुस्तकलाई प्रेरणादायी कृति भएको उल्लेख गर्दै विशेष गरी युवा पुस्ताले यस्ता कृतिबाट सिकेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।