
सोमवार , माघ २९, २०८०
रुपन्देही, २९ माघ ।
सेवाग्राहीबाट सेवाप्रवाहबारे थाहा पाउन भन्दै रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ स्थित कम्हरिया स्वास्थ्य चौकीको सेवाप्रवाह मापनका लागि सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई आयोजना गरेको छ ।
आइतबार स्वास्थ्य चौकी परिसरमा सेवाग्राही तथा सरोकारवाला समूहलाई भेला गराइ सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाईकार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागीले स्वास्थ्यचौकीको सेवा प्रवाह अब्बल र बिरामीमैत्री भएको बताए । स्वास्थ्यकर्मीहरुले मन्दमुस्कानसहित सेवा प्रदान गरेको, सरसफाइ भएको, गाउँघरे क्लिनिक नियमित सञ्चालन गरेको, ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गरेको बताए । उनीहरुले किशोरकिशोरी परामर्श, किशोरकिशोरीमैत्री सेवा, परिवार नियोजन, कुपोषण उपचार, २४ घण्टे प्रसुति सेवा र मातृशिशु उपचार राम्रो भएको भन्दै प्रशंसा गरे ।
यद्यपि स्वास्थ्य चौकी साँघुरो ठाउँमा हुँदा सुत्केरीलाई २४ घण्टा राख्न, कुरुवा बस्न, प्रयोगशाला सञ्चालन गर्न समस्या भएको बताउँदै स्वास्थ्यचौकीको नयाँ भवन छिटो सम्पन्न गर्न आग्रह गरे । स्वास्थ्य स्वयंसेविका, आमा समूह, किशोरी समूह, स्थानीय सेवाग्राही लगायत १५ जनाले स्वास्थ्यचौकीको सेवा प्रवाहबारे सुझाव राखेका थिए ।
सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका परिवार नियाजन अधिकृत प्रभास पन्थीले सेवा प्रवाहका हिसाबले कम्हरिया स्वास्थ्यचौकी जिल्लामै अगाडि रहेको बताए । उनले सेवाप्रवाह राम्रो बनाउन स्वास्थ्य चौकी प्रमुख प्रदीप पण्डितकोे मिहिनेत र स्वास्थ्यकर्मीहरुको लगनशीलताको प्रशंशा गरे ।
कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिकाकी नर्सिङ इन्चार्ज शर्मिला शर्माले सेवा प्रवाह थप अब्बल बनाउन स्वास्थ्य चौकीमा निःशुल्क औषधी, सेवा प्रवाह लगायतमा नियमित सघाउने बताइन् ।
आधारभूत स्वास्थय परियोजनाकी सरस्वती थापाले आमा समूह, किशोरकिशोरी परिचालन र आधारभूत स्वास्थ्य सुधारमा हातेमालो गर्ने बताइन् । सगरमाथा किशोरकिशोरी समूहका अध्यक्ष नरेन्द्र यादवले विद्यालय विदाका दिन किशोरकिशोरीलाई स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे ।
कार्यक्रममा उठेका जिज्ञासाबारे स्वास्थ चौकीका प्रमुख प्रदीप पण्डीतले जवाफ दिएका थिए । उनले स्वास्थ्य चौकीको सेवा बिरामीमैत्री आफ्नो क्षेत्रमा स्वास्थ्य राम्रो बनाउन प्रवद्र्धनात्मक कार्यक्रम समेत थालेको बताए । उनले सेवामा भए कमीकमजोरी देखिए तत्काल सुझाव दिन पनि आग्रह गरे ।
कम्हरिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य कल्लु यादवले सुझावहरु अनुसार स्वास्थ्य चौकीलाई देशमै नमूना बनाउने बताए । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीसहित १२ जना कर्मचारी छन् । यहाँ दैनिक ८० विरामी उपचारका लागि आउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij