२०८३, कार्तिक १ गते

Oct 17 2026 | २०८३, कार्तिक १ गते

युवालाई सीपसँग जोड्दै सशस्त्र प्रहरी : आत्मनिर्भर बनाउने प्रयास

शनिवार , कार्तिक १, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • पश्चिम नवलपरासी, ३१ असोज । सीमा सुरक्षामा अहोरात्र खटिने सशस्त्र प्रहरी बल पछिल्लो समय सीमावर्ती बस्तीका बासिन्दासँगको सम्बन्धलाई फरक ढंगले गाँस्न थालेको छ । केवल सीमाको पहरेदारी र सुरक्षा जाँचमा मात्र सीमित नरही सीमा क्षेत्रका युवा समूहलाई प्रत्यक्ष सीपसँग जोड्दै आत्मनिर्भर बनाउन सशस्त्र प्रहरी अग्रसर बनेको हो ।

    यसैक्रममा पश्चिम नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वार्टरले  जिल्लाको पाल्हीनन्दन गाउँपालिकासँगको सहकार्यमा सीमावर्ती गाउँका युवाहरूका लागि केश कर्तक (कपाल काट्ने) तालिम सञ्चालन गरिरहेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सञ्चालित यो तालिममा सीमा नाकासँग जोडिएका वडाहरूका १५ जना स्थानीय युवाहरूको सहभागीता रहेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गोविन्द बहादुर खातीका अनुसार विगतमा सीमा सुरक्षा र गस्तीका क्रममा मात्र भेटिने प्रहरी अहिले गाउँले युवाका हातमा व्यवसायिक सीप थपिदिने सहयात्री बनेको छ । तालिममा सहभागीहरूलाई कपाल काट्ने आधारभूत सैद्वान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यासमार्फत दक्ष बनाइँदैछ । सशस्त्र प्रहरी गण परिसरमै सञ्चालित तालिम पूरा गरेपछि सहभागीहरूले आफ्नै गाउँ–ठाउँमा व्यवसाय सुरु गरी स्वरोजगार बन्ने र स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना हुने विश्वास लिइएको छ ।

    बर्दीधारी र सर्वसाधारणबीचको दूरी घटाउँदै आपसी विश्वास, सद्भाव र सहकार्य बढाउन यो प्रयास निकै प्रभावकारी देखिएको छ । सीमा क्षेत्रका युवाहरू आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बन्दा सीमा सुरक्षामा समेत उनीहरूको अपनत्व र सहभागिता स्वतः वृद्धि हुने अनुभव सुरक्षा निकायको छ ।

    सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले आगामी दिनमा पनि सीमावर्ती युवाहरूको हित, सीप विकास र जनचेतनामूलक यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हतियार र सुरक्षा घेराभन्दा माथि उठेर युवाहरूलाई आत्मनिर्भरतातर्फ डोर्‍याउने यस्ता अभ्यासले सीमा क्षेत्रका बस्तीहरूमा सकारात्मक सामाजिक रूपान्तरणको नयाँ सम्भावना देखाइदिएको छ ।