२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मन्त्रीहरु बाहिर सांसदहरुलाई कुराएर, भित्र दलालहरुसँग बस्छन् : सांसद महरा

आइतवार , माघ २८, २०८०

काठमाडौं, २८ माघ । नेकपा(माओवादी केन्द्र) का सांसद महेशकुमार महराले सरकारका मन्त्रीहरुले विकास निर्माणका योजना लिएर जाने सांसदहरुलाई भेट नदिने गरेको बताएका छन् । 

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद महराले सांसदहरुलाई सरकारका मन्त्रीहरुले भेट नदिने गरेका बताए । उनले विकास निर्माणका योजनाहरुसँग सम्बन्धित काम लिएर जाँदा मन्त्रीहरुले वेवास्ता गर्ने गरेका बताए । उनले बाहिर सांसदहरु कुरेर बसिरहँदा भित्र मन्त्रीहरु दलालहरुसँग बसिरहेका हुने बताए ।

उनले आगामी दिनमा पनि मन्त्रीहरुले सांसदहरुलाई त्यसरी वेवास्ता गरेमा मन्त्रीका बिरुद्धमा संसदमा कडा रुपले प्रश्तुत हुने र मन्त्रीहरुका बिरुद्धमा मिडियामा जानेसम्मको चेतावनी दिए । उनले यस तरिकाले सुशासन कायम हुन नसक्ने भन्दै मन्त्रीहरुलाई निर्देशन दिन प्रधानमन्त्रीलाई आग्रह समेत गरे । 

उनले भने – ‘एउटा माननीय बाहिर कुरिरहेको हुन्छ । भित्र कुनै अमुक व्यक्ति दलालहरु आएर बसिरहेका हुन्छन् । तर माननीयहरुले भेट्न पाउँदैनन् । खबरदार म यहाँबाट के भन्न चाहन्छु भने यदि तपाईहरुले संसदका सदस्य माननीयज्युहरु प्रति त्यस्तो व्यवहार गर्नुहुन्छ भने हामीले तपाईका बिरुद्ध फेरि यो भन्दा कडा सदनमा त बोल्छौँ, बोल्छौँ । हामी बाहिर मिडियामार्फत पनि जान तयार छौँ । प्रधानमन्त्रीलाई म के भन्छु भने जो मन्त्रिहरु छन्, उहाँहरुलाई निर्देशन दिनुप¥यो । यसरी सुशासन कायम हुन सक्दैन । यसरी सामाजिक न्याय र सोह्रौँ पञ्चवर्षीय योजनाको सोच पूरा हुँदैन ।’

उनले सुदूरपश्चिमको पर्यटन विकासका लागि संघीय सरकारले ध्यान दिनुपर्ने बताए । उनले जयपृथ्वी राजमार्ग अलपत्र अवस्थामा रहेको भन्दै सो राजमार्गको सुधार गर्न माग समेत गरे ।