२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

तिलोत्तमा–५ का स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण

शनिवार , माघ २७, २०८०

  • 898
    Shares
  • 898
    Shares
  • तिलोत्तमा, २७ माघ ।
    सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच ल्याउन रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–५ का क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरिएको छ । करिब २ लाखको लागतमा तिलोत्तमा वडा–५ का ९ जना स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख रामकृष्ण खाण, वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे लगायतले साईकल वितरण गरेका हुन् ।

    सो अवसरमा बोल्दै नगरप्रमुख खाणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दै आएको बताए । उनले अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल वितरण गरिएको बताए । ‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उनले भने, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ कोरोना महामारी र नियमित खोप अभियानमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन र बाल तथा मातृ मृत्युदर कम गर्न यस्ता कार्यक्रमले सघाउने उनले बताए ।

    स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस् भनेर साईकल वितरण गरिएको तिलोत्तमा–५ का वडाध्यक्ष डुम्रेले बताए। 

    महिला स्वास्थ्य स्वयंसेविका राधा खनाल रेग्मीले साईकल वितरण आवश्यक रहेको र यसले स्वास्थ्य सेवा प्रवाहमा आफूलाई सजिलो हुने र घर–घरमा पुग्ने बताए ।

    कार्यक्रममा तिलोत्तमा–५ का सचिव हरिप्रसाद खतिवडा, वडा–५ का वडा सदस्य हरि पन्थ, धर्मादेवी न्यौपाने, हिरा गिरी, टोल विकासका अध्यक्ष हरीप्रसाद पाण्डे, वडा स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारी, चुरामणि पाण्डे लगायतले साईकलको सही सदुपयोग गर्दै स्वास्थ्य क्षेत्रमा थप सहज वातावरण निर्माण गर्नुपर्ने बताए ।

    तिलोत्तमा वडा–५ का वडा सदस्य हरि पन्थको स्वागत तथा वडा सचिव हरिप्रसाद खतिवडाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    वडामै हेल्प डेस्क सुरु

    तिलोत्तमा वडा नम्बर–५ ले ‘हेल्प डेस्क’ सञ्चालन गरेको छ । सेवाग्राहीहरुको माग र उनीहरुको असहजतालाई सहज रुप दिन र सेवा प्रवाहलाई समेत चुस्तदुरुस्त राख्न सेवा हेल्प डेस्क सञ्चालनमा ल्याएको वडाअध्यक्ष रमेश डुम्रेले बताए ।

    सेवाग्राहीलाई अत्यावश्यक सेवा सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको उनको भनाइ छ । सो डेस्कबाट सेवाग्राहीले वडामा हुने समग्र कामको लागि सहजीकरण निःशुल्क रुपमा पाउने छन् ।