२०८२, फाल्गुण २७ गते

Mar 11 2026 | २०८२, फाल्गुण २७ गते

निर्वाचनअघि गठबन्धन गरेर सत्तारुढ दलले देशलाई संकटमा पारे : पोखरेल

बिहिवार , माघ २५, २०८०

  • 943
    Shares
  • 943
    Shares
  • रुपन्देही, २५ माघ । 
    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्तामा टिकिरहने सत्ता गठबन्धन आबद्ध दलहरूका सोचले मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको बताएका छन् । एमाले रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको र त्यसपछिका काम पनि त्यसै गरी अन्यौलतामा बितिरहेको बताए ।

    ‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ, विकास निर्माणका काम अलपत्र छन् । ऋण दिनानुदिन बढिरहेको छ । जनता गरिबीले छट्पटिएका छन् । युवा विदेश जान बाध्य छन्’ पोखरेलले । 

    एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दावी गर्दै विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने तथा देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।

    आन्दोलन संस्थागत गर्ने वेला कांग्रेसले जहिल्यै धोका दिने गरेको उनले आरोप लगाएका छन् । ‘कांग्रेस सधै यथास्थितिको पक्षधर हो, तर एमाले परिवर्तनको नेतृत्व गर्ने पार्टी हो, त्यसैले आफ्ना विचार समाजका अगाडि राखिरहनुपर्छ तर हामी केही समययता हामी कमजोर भएका छौं भनेर स्वीकार गर्नुपर्छ अब त्यसो गर्नुहुँदैन’ पोखरेलले भने । 

    उनले भने, ‘२०१७ देखि हालसम्मका विभिन्न आन्दोलन भए । कांग्रेस पनि जिम्मेवार पार्टी हो । हरेक आन्दोलनको नेतृत्व कांग्रेसले पनि गर्दै आएको छ तर, आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कांग्रेसले धोका दिने गरेको छ । इमानदार भएर राजनीति गरेको भए पटकपटक आन्दोलन गर्नुपर्ने थिएन । ठूलो संघर्ष र आन्दोलनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । ’

    लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेको पोखरेलले सत्ता स्वार्थका कारण लोकतन्त्र पूर्ण रूपमा संस्थागत हुन नसकेको बताए ।

    दुर्गा प्रसाईजस्ता नेता बेलाबखत पार्टीमा जन्मने उनले बताए । ‘प्रभावित पार्न पार्टीमा आउँछन् । आफ्नो स्वार्थ पूरा नभएपछि धोका दिएर जाने गर्छन् ।’ उनी अराजकताको प्रतिनिधि भएको पोखरेलले बताए ।  उनले थपे, ‘यस्ता खालका नेतालाई जनताले विस्तारै पाखा लगाउँदै जान्छन् ।’

    यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उनले बताए । कलात्मक हिसाबले पार्टीमा आउँछन् र धोका दिएर जाने हुँदा आगामी दिनमा यस्ता अराजक नेताप्रति बेलैमा सचेत हुन आवश्यक रहेको उनले बताए । 
    ‘कुराभन्दा काम गर्ने वेला आएको छ । जनताले कामको मूल्यांकन गर्छन्’, उनले भने ‘जनताको माग र आवश्यकताको आधारमा काम गर्न सक्नुपर्छ ।’ जीतको ठाउँको रक्षा गर्ने र नयाँ स्थानीय तहमा आगामी निर्वाचनमा जीत हासिल गर्ने गरी पार्टीका गतिविधि प्रभावकारी ढंगले सञ्चालन गर्न महासचिव पोखरेलले बताए ।

    एमालेको नेतृत्व बनेका स्थानीय सरकारले उदाहरणीय काम गर्नुपर्ने उनले बताए । ‘अन्य दलले भन्दा फरक काम गर्नुपर्छ । जनताको हितमा काम गरिनुपर्छ, ’पोखरेलले भने । जनजीविकासँग जोडेर कार्यक्रम सञ्चालन गर्न उनले सुझाए । सम्बन्धित ‘विज्ञसँग छलफल गरी स्थानीय तहमा नमूना काम गर्नुपर्छ । जनताले महसुस गर्ने गरी विकास निर्माणका काम हुनुपर्छ, ’ उनले भने । त्यसले पार्टीको जनआधार दरिलो बन्ने उनले बताए ।

    पार्टी बनाउन हिजो जसरी काम गरिएको थियो आज पनि त्यसै गरी सबै कार्यकर्ता सक्रिय हुनुपर्छ, सबै कार्यकर्ताको जोडले पार्टी बलियो हुन्छ, त्यो स्थानीय तहमा मात्र होइन केन्द्रमा पनि बुझाइमा समस्या छ अब सुधार्नुपर्छ’ पोखरेलले भने ।