सोमवार , माघ १५, २०८०
तिलोत्तमा, १५ माघ ।
तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीका संस्थापक महासचिव स्वर्गीय माधवलाल देवकोटाको परिवारलाई तिलोत्तमा उद्योग वाणिज्य संघले राहत सहयोग प्रदान गरेको छ । २०८० मंसिर ४ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ड्राईभरटोलमा भएको सवारी दुर्घटनामा परी संघका सल्लाहकार र संस्थापक महासचिव स्वर्गीय देवकोटाको परिवारलाई संघले सहयोग स्वरुप रु. १ लाख १ हजारको चेक प्रदान गरेको हो ।
तिलोत्तमा उद्योग वाणिज्य संघले सोमबार एक कार्यक्रमकाबीच तिलोत्तमा बहुमुखी सहकारी संस्थाका अध्यक्ष, सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका संघका संस्थापक महासचिव स्वर्गीय देवकोटाको निवासमै पुगेर देवकोटाकी धर्मपत्नी विमला शर्मालाई सहयोग स्वरुप १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
देवकोटाकी धर्मपत्नी शर्मालाई तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाण र संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) लगायतले चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै नगरप्रमुख खाणले स्वर्गीय देवकोटाले संस्था र व्यवसायीको हितका लागि गरेको योगदानको कदर गर्दै यो सहयोग सामाजिक हिसाबले अनुकरणीय र मानवीय हिसाबले पुण्यको काम भएको बताए ।
संघका संस्थापक महासचिव स्वर्गीय देवकोटाले संघको स्थापनाकालदेखि हालसम्म संस्थागत विकास तथा व्यवसायीहरुको एकता, हकहितका साथै व्यवसायको प्रवद्र्धनमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै परिवारको राहतका लागि संस्थाले नगद रकम सहयोग गरेको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले बताए ।
स्वर्गीय देवकोटाले आफ्नो जीवनकालमा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनु भए पनि उहाँको मृत्युपश्चात परिवार अभिभावकबिहीन अवस्थामा पुगेको अवस्थालाई समेत मध्यनजर गरी बालबालिकाको शिक्षा तथा परिवारलाई केही सहयोग पुर्याउने उद्देश्यले संघले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नगद सहयोग प्रदान गरेको संघका उद्योग उपाध्यक्ष सुरज पंगेनीले बताए ।
देवकोटाको तिलोत्तमा उद्योग वाणिज्य संघले गत मंसिर १ देखि मणिग्राममा आयोजना गरेको औद्योगिक व्यापार मेलामा जाने क्रममा दुर्घटनामा परी निधन भएकोले संघले मेलाकै बीचमा देवकोटाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेअनुरुप नै संघले नगद सहयोग गरेको वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले बताए ।
संघका सदस्य तथा उनका परिवारलाई परेको दुःखमा सघाउनु संघको कर्तव्य र दायित्व बोध गरेर संघले संघका संस्थापक महासचिव देवकोटाको परिवारलाई राहतस्वरुप नगद प्रदान गरिएको संघका कोषाध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
तिलोत्तमा उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष भण्डारी, उद्योग उपाध्यक्ष पंगेनी, वाणिज्य उपाध्यक्ष पाण्डे, कोषाध्यक्ष विष्णु प्रसाद भण्डारी, सचिव टिकाराम भण्डारी, सल्लाहकार कृष्ण प्रसाद शर्मा, दुर्गा खरेल, कार्यसमिति सदस्य कृष्ण प्रसाद पाण्डे, बिना न्यौपाने, किशोर पंगेनी, कमल भुसाल, नरेश केसी, रोम गैरेलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु स्वर्गीय देवकोटाको निवासमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको संघका कार्यालय प्रमुख लोकनाथ खनालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij