२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

विद्यार्थी खोज्न देहरादुनदेखि भैरहवा

सोमवार , माघ १५, २०८०

भैरहवा, १५ माघ ।
भारतको देहरादुनस्थित द इण्डियन पब्लिक स्कूलले नेपाली विद्यार्थीलाई लक्षित गर्दै भर्ना अभियान सुरु गरेको छ । भारतीय केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सिबीएसई) बाट सम्बन्धन प्राप्त स्कूलले कक्षा ४ देखि १२ सम्म भर्ना खुलेको भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । सन २००१ मा स्थापना भएको बोर्डिङ विद्यालय ८० एकड क्षेत्रफलमा अवस्थित छ ।

होस्टल, अडिटोरियम हल, विद्यालय र सम्पूर्ण कर्मचारी आवाससहितको व्यवस्था स्कूल परिसरमै रहेको छ । विज्ञान, व्यवस्थापन, मानविकी लगायतको सबै संकायमा अध्यापन गराउँदै आएको स्कूलले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दे प्राप्तांकको आधारमा विशेष छुटको व्यवस्था गरेको विद्यालयको भाइस प्रिन्सिपल चन्द्रशेखर त्यागीले जानकारी दिए ।

गुणस्तरीय शिक्षा र प्रयोगात्मक शिक्षालाई प्रभावकारी रुपमा दिने गरी विगत २७ वर्षदेखि कार्यरत अनुभवी प्राचार्यको नेतवृत्मा देशभरीका विज्ञ स्तरीय शिक्षकहरुद्वरा शिक्षा दिदै आएको उनले बताए । नेपाल र भारतको सम्बन्ध वर्षौदेखि रहेकोले शिक्षामा पनि धेरै समानता रहेको उनको भनाइ छ । 

शिक्षाको माध्यमबाट पनि दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउने उद्देश्यका साथ शान्त र स्वच्छ वातावरणमा पठनपाठन हुने स्कूलका हाउस मास्टर मनोज सिंहले बताए । उनले नेपालका एक दर्जन बढी विद्यार्थी हाल विद्यालयमा अध्ययनरत रहेको र धेरै विद्यार्थीहरु त्यहाँ पढेर नेपाल आई उच्च शिक्षा लिई विभिन्न सेवामा रहेको बताए । ।

उनका अनुसार ५ सय जनाको क्षमता रहेको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालय परिसरमा ५ सय जना बस्न मिल्ने ४ वटा होस्टल, भोजनालय, प्रशासनिक र शैक्षिक भवन, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, योगास्थल, नृत्य, संगीत, स्वीमिङ पुल, लगायतका सबैप्रकारको खेलका प्रशिक्षकसहितको व्यवस्थापन गरिएको स्कूलले जनाएको छ ।

सैद्वान्तिक शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि स्कूलले विशेष जोड दिदै आएको विद्यालयले जनाएको छ । प्रत्येक वर्ष प्रतिष्पर्धात्मक खेलहरु आयोजना गर्दे आएको स्कूलले राष्ट्रस्तरका खेलाडी उत्पादनमा पनि भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।