२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लुम्बिनी प्रादेशिक अस्पतालका मेसुको निर्देशन : गुनासो गर्ने ठाउँ नरहोस्

बिहिवार , माघ ११, २०८०

बुटवल, ११ माघ । 
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापाले सेवाग्राहीको गुनासो आउने वातावरण सिर्जना नहुने गरी काम गर्न निर्देशन दिएका छन् । उनले सेवालाई जनमैत्री बनाउँदै अस्पतालाई नमूनाको रुपमा विकास गर्ने लक्ष्यअनुसार अघि बढ्न अस्पताल परिवारलाई आग्रह गरे । 

अस्पताल र सेवाग्राहीसँगको अन्तरसम्बन्ध तथा सहज सञ्चारका लागि बिहीबार आयोजना गरिएको अन्तरव्यैत्तिक सञ्चारबारे सहजीकरण गर्दै मेसु थापाले गुनासो आउने ठाउँ नराखी काम गर्न निर्देशन गरेका हुन् । अस्पतालमा कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले गल्ती गरेको भेटिएमा छुट नदिने चेतावनीसहित उनले सेवामा केन्द्रित रहन निर्देशन दिए । 

अस्पतालका प्रत्येक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा उनीहरुले सेवाग्राहीसँग गर्ने व्यवहार, बोलीचाली तथा दक्षतालाई निगरानीमा राखिने उल्लेख गरे ।  

अस्पतालले सेवाग्राहीसँगको अन्तरसम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी अस्पतालमा कार्यरतहरुलाई नियमित रुपमा सहजीकरण गर्दै आएको छ । 

अन्तर व्यैत्तिक सञ्चार विभागकी प्रमुख माधुरी ज्ञवालीका अनुसार मंगलबार र बिहीबार गरी २ दिनसम्म सकजीकरण कक्षा सञ्चालन गरिएको थियो । अस्पतालको आकस्मिक कक्षा, ओपिडी तथा बीमा शाखामा कार्यरतहरुलाई सेवाग्राहीसँग गरिने व्यवहार र सहज सञ्चारको बारेमा जानकारी गराइएको थियो । 

सहभागीहरुले सेवा प्रदान गर्ने समयमा सेवाग्रीबाट आउने विभिन्न प्रतिक्रियाहरुको अनुभव बारे अन्तरक्रिया गरेका थिए । त्यसै गरी सेवा प्रदान गर्ने समयमा उत्पन्न हुने असहज परिस्थिति। त्यसको व्यवस्थापन र अनुभवबारे छलफल भएको थियो ।