२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

वाणिज्य बैंकहरु मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरु पनि मर्ज हुन आवश्यक छ : खेम पाठक

बुधवार , माघ १०, २०८०

  • 757
    Shares
  • 757
    Shares
  • काठमाडौं,१० माघ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले बैंक,वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्र मार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको बताएका छन् । संस्थाका अध्यक्ष पाठकले अहिलेसम्म सहकारी र लघुवित्त वित्तीय संस्थाहरुबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा नआउने अवस्था रहेको बताए ।

    सरकारले तत्काल बैंक,वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको बताएका हुन् । उनले सरकारले एकीकृत सूचना केन्द्र बनाए अहिले सहकारी र लघुवित्तहरुले कर्जा प्रवाहमा देखिएको समस्या न्युनिकरण हुनसक्ने बताए । सहकारी र लघुवित्तबाट ऋण लिनेहरुको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था नभएको भन्दै सूचना केन्द्रमा समावेश गराउने जिम्मेवारी सरकारको भएको बताए ।

    उनले वि.स.२०७४ सालमा बनेको सहकारी ऐन अहिलेसम्म कार्यान्वयन नहुँदा पनि सहकारी क्षेत्रमा समस्या आइरहेका बताए । उनले बैंक, वित्तीय संस्था र सहकारीको समेत हेर्न मिल्नेगरी एकीकृत सूचना केन्द्र बनाउन आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पाठकले एकीकृत सूचना केन्द्र बनाए वित्तीय संस्थाहरुलाई ऋण लगानी गर्न सजिलो बनाउने दाबी गरे ।

    अहिले बैंक, लघुवित्त र सहकारीको ऋण लिने एकै व्यक्ति धेरै देखिएको पनि अध्यक्ष पाठकले बताए । बैंक, लघुवित्त र सहकारीबाट ऋण लिने तर नतिर्ने अवस्था रहेको र बैंक, लघुवित्त र सहकारीको ऋणबारे तीनवटै निकायलाई कुनै एकबाट ऋण लिएको भन्ने जानकारी नहुने अवस्था रहेको बताए । तीन निकायहरुबीच सूचना लिने दिने संरचना नै नरहेको बताए । उनले सहकारी विभाग, सहकारी मन्त्रालय र स्थानीय सरकारमा विभाग बनाएर सहरकारीलाई नियमन गर्ने भनिए पनि व्यवहारमा त्यस्तो नभएको बताए ।

    उनले लघुवित्त वित्तीय संस्थाहरुको राष्ट्र बैंकले नियमनमा सञ्चालनमा रहेका संस्थाहरु अनुशासित रहेको उल्लेख गरे । राष्ट्र बैंकले नियमन गर्ने भनिए पनि आवश्यक भन्दा बढी लघुवित्त संस्था खोल्न अनुमति दिएका कारण अहिले समस्या भइरहेको उनको भनाई छ । क्षमता अनुसारको संस्थाहरु स्थापना गर्नुपर्नेबारे सरकारले सोच्न जरुरी रहेको बताए ।  नियमन गर्न नसक्दा धेरै सहकारी जन्मिएको उनले बताए ।

    अध्यक्ष पाठकले ३५ हजार बढी पुगेको सहकारी संख्या अहिले केही मर्ज भएर ३० हजारमा आएको बताए । उनले ३० हजार सहकारीमा ५० प्रतिशत सहकारी मात्रै राम्रो रहेको बताए । उनले बाँकी १५ हजार सहकारी नाम मात्र भएको र के काम गरिरहेका छन् भन्ने बारेमा अन्योलता रहेको बताए । उनले सहकारी वा लघुवित्त संस्था धेरै बनाउने भन्दा पनि गुणस्तरीय र स्तरीय बनाउनु पर्नेमा जोड दिए ।

    अध्यक्ष पाठकले वाणिज्य बैंकहरु मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरु पनि मर्ज हुन आवश्यक रहेको बताए । उनले एउटा स्थानीय तहमा धेरै एउटै प्रकृतिका लघुवित्त र सहकारी संस्था आवश्यक नहुने बताए । उनले एउटा स्थानीय तहमा धेरै लघुवित्त र सहकारी संस्थाहरु हुँदा एउटै मानिस धेरै संस्थामा सदस्य लिने, सबै संस्थाको शेयर लिने, पैसा जम्मा गर्नुपर्ने र ऋण लिने कुराले लघुवित्त र सहकारीमा अस्थिरता पैदा गर्ने गरेको बताए । त्यस्तै अध्यक्ष पाठकले  लघुवित्त र सहकारीमा देखिएका पछिल्ला समस्या सही रुपमा पुँजी परिचालन गर्न नसक्दा आएको दाबी गरे । उनले सहकारी र लघुवित्तले कर्जा प्रवाह गर्ने काम मात्रै गर्ने तर संस्थाले गरेको लगानी कुन क्षेत्रमा लगानी भए÷नभएको अध्ययन र अनुगनम नगर्दा समस्या पैदा भएको उल्लेख गर्नुभयो । उहाँले एक अर्को बीचमा ग्राहक बढाउने र धेरै कारोबार गरी धेरै नाफा कमाउन खोज्दा पनि लघुवित्तमा पछिल्लो समस्या बाहिर देखिएको बताए । उनले एउटै व्यक्ति धेरै लघुवित्तमा सदस्य हुने र सबै लघुवित्तबाट कर्जा लिँदा थप समस्या भएको बताए  । उनले एक जना मानिसले १० लघुवित्तहरुबाट ऋण लिएको बताए । उनले केही लघुवित्त वित्तीय संस्थाहरुले बाटोमा बसेर पनि लगानी गरेको आरोप लगाए । उनले वित्तीय संस्थाहरुले उत्पादन क्षेत्रमा लगाएको लगानी पनि जोखिम रहेको बताए । उनले उत्पादन क्षेत्रमा लगानी गरिए पनि उत्पादनको उचित बजार व्यवस्थापन नभएको भन्दै बजार व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताए ।

    उनले संस्थाहरुले पशुपालनमा लगानी गरेको तर दुग्ध बजारमा बिक्री गर्ने वातावरण नभएको गुनासो रहेको बताए । उनले किसानले उत्पादन गरेको वस्तु बिक्री गर्ने बजारको व्यवस्थापन सरकारले गरी दिए मात्रै सबै मानिसहरु उत्पादनमा लाग्ने अवस्था बन्ने बताए । उनले कर्जा प्रवाह गर्ने संस्थाहरुले अनुशासित भएर कर्जा प्रवाह नगर्दा समस्या भएको बताए । —न्युज एजेन्सी नेपाल