
मंगलवार , माघ ९, २०८०
भैरहवा, ९ माघ ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने र मनोबल उच्च राख्नुपर्नेमा जोड दिएका छन् । उनले नकारात्मक सोचबाट टाढा रहन आग्रह गरेका छन् ।
जेसीआई सिद्धार्थ लेडी, नेपालको २८ औं पदस्थापना समारोहलाई सोमबार भैरहवामा उद्घाटन गर्दै मन्त्री पाण्डेयले उर्जा र उत्पे्ररणाको कमीले कतै सकारात्मक रुपमा सोच्न सकेनौ कि भन्दै प्रश्न गरे । उनले भने, ‘केही व्यक्तित्वहरु देश कता जाँदैछ भन्नुहुन्छ । देश त यही रहन्छ । यो देशलाई हामी विकसित र व्यवस्थित गर्नुपर्छ । यो हाम्रो दायित्व हो । उनले निमित्त जीवनमा मर्यादा खोज्नुभन्दा सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सबैले सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । उनले भने, ‘केही सफल व्यक्ति पनि असन्तुष्ट रहेको देखेका छौं । हामी कम समयमा धेरै प्राप्त गर्ने प्रयास गर्छौं, यसले असफल र असन्तुष्ट हुने अवस्था आएको छ ।’
मन्त्री पाण्डेयले लागूऔषध दुव्र्यसनीविरुद्ध मर्चवार, बेलहियालगायत स्थानमा सचेतनामूलक कार्यक्रम गर्न जेसीआई सिद्धार्थ लेडी, नेपाललाई आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।
उनले महिला बिना सृष्टि नै चल्न नसक्ने र अवसर पाए महिलाले नेतृत्व गर्ने क्षमता राखेको बताए । नेपालमा दुई कार्यकाल महिला राष्ट्रपति भइसकेको उनको भनाइ छ । विगतमा आफू पनि जेसीजको सदस्य रहेको जानकारी गराउँदै उनले जेसीजले नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण टेवा पुर्याएको बताए ।
कार्यक्रममा जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२३ का अध्यक्ष मनोज भण्डारी, जेसीआई सिद्धार्थ लेडी नेपाल वर्ष २०२३ की अध्यक्ष विष्णु पाण्डे, वर्ष २०२४ की अध्यक्ष संगिता आचार्य, पूर्वअध्यक्ष पार्वती पौडेल, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, खबरपात्रो डट कमका प्रधान सम्पादक दीपक घिमिरे, कार्यक्रम संयोजक रीता थापा, सीता काफ्ले लगायतले बोलेका थिए ।
कार्यक्रममा जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२३ की अध्यक्ष विष्णु पाण्डेले वर्ष २०२४ की अध्यक्ष संगिता आचार्यलाई पद हस्तान्तरण गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij