सोमवार , माघ ८, २०८०
काठमाडौं, ८ माघ । प्रदेशका यातायातमन्त्रीहरुले ट्राफिक नियम उल्लंघन गरेबापत उठेको जरिबाना प्रदेश सरकारले नै प्रयोग पाउनुपर्ने माग गरेका छन् ।
आईतवार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँगको छलफलमा उनीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले ट्राफिक नियम उल्लंघन गरेबापत प्रदेशमा उठेको रकम प्रदेश सरकारले नै प्रयोग गर्दा प्रदेशको राजश्व बढ्ने धारणा राखे । छलफलका क्रममा बोल्दै मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले ट्राफिक नियम उल्लंघन गरेको जरिबाना प्रदेश सरकारलाई नै प्रयोग गर्न दिन आग्रह गरे । उनले कोशीदेखि नारायणीसम्मको हुलाकी राजमार्गमा विद्य्ुतीय बस सेवा शुरु गर्न आवश्यक रहेको बताए ।
छलफलमा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आउने यातायातसम्बन्धी ऐनमा ट्याक्सीको सिण्डिकेट हटाउनुपर्ने बताए । उनले २० वर्षपछि लगत कट्टा गर्दा पनि उसैले चाहेको व्यक्तिले मात्रै पाउने कुराको अन्त्य हुन जरुरी रहेको बताए । मन्त्री जुग्जालीले पोखरामा ट्याक्सीहरु मिटरमा हिँड्न नमान्दा समस्या आइरहेको बताए।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij