२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

रुपन्देहीमा लोसपा र जसपाले संयुक्त रुपमा मनाए ‘बलिदानी दिवस’

शुक्रवार , माघ ५, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, ५ माघ ।
    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले रुपन्देहीमा संयुक्त रुपमा ‘बलिदानी दिवस’-२०८० मनाएका छन् । 

    बलिदानी दिवसको अवसरमा लोसपा रुपन्देही र जसपा रुपन्देहीले शुक्रबार भैरहवास्थित मिलनचोकमा दीप प्रज्जवलन गरेको जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए । उनले रुपन्देहीमा दुई पार्टीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको बताए । जिल्ला अध्यक्ष यादवले संघीयताको मर्म बुझ्ने पार्टीहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

    दीप प्रज्जवलन कार्यक्रममा बोल्दै लोसपाका केन्द्रीय सदस्य तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले अधिकार र पहिचानका लागि शहीदले बलिदानी दिएको बताए । उनले शहीदको बलिदानीका कारण मुलुकमा संघीयता स्थापना भएको र विभिन्न उत्पीडित समुदायले अधिकार पाएको दावी गरे । 

    त्यस्तै जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष रामअवतार यादवले जनताले नेता चिन्नुपर्ने बेला आएको बताए । उनले मधेशको हकअधिकारका लागि हुने आन्दोलनमा आफू अग्रपंक्तिमा रहने बताए । उनले भने, ‘बाँचुञ्जेल अधिकारका लागि लड्छु । ’ संविधानमा रहेका त्रुटी सच्याउन संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

    लुम्बिनी प्रदेश सभा सदस्य तथा लोसपा लुम्बिनी प्रदेश संसदीय दलका उपनेता कन्हैया बनियाले संघीयताले नै मधेशको विकास हुने दावी गरे । उनले संघीयतालाई झन बलियो पार्नुपर्नेमा जोड दिए । उनले शहीदको बलिदानीका कारण आज विभिन्न पार्टी सरकारमा जान पाएको उल्लेख गरे ।

    जसपा सिद्धार्थनगरका अध्यक्ष उज्जवल पोखरेलले पहिचानवादी शक्ति एकजुट भएर अघि बढे पनि यो शक्तिले उठाएको मागहरु पूरा हुन सक्ने बताए । उनले धेरै माग सम्बोधन हुन बाँकी नै रहेको बताए ।

    nkk.jpg

    लोसपा लुम्बिनी प्रदेश सदस्य तथा लोकतान्त्रिक विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष मोहम्मद अली, लोसपा सिद्धार्थनगरका अध्यक्ष बसिर अहमद खान, समाजवादी विद्यार्थी युनियन लुम्बिनी प्रदेशका अध्यक्ष राहुल यादवलगायतले बोल्दै शहीदहरुको योगदानलाई बिर्सन नहुने बताए ।

    nklll.jpg

    मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय विद्यार्थी रमेश महतोले सहादत प्राप्त गरेको सम्झनामा मधेशकेन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन् । मधेश प्रदेश सरकारले पनि बलिदानी दिवस मनाउँदै आएको छ ।