२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

मन्त्री गुप्ताको गुनासो : संघले प्रदेश सरकारलाई अधिकार दिन खोजेन

बुधवार , माघ ३, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, ३ माघ ।

    लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.) ले संघ सरकारले प्रदेश सरकारलाई अधिकार दिन नखोजेको गुनासो गरेका छन् । उनले संघ सरकारका कारण प्रदेश सरकारको आलोचना भइरहेको बताए ।

    सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्को आयोजना तथा सञ्चारिक समूह लुम्बिनी प्रदेशको समन्वयमा बुधबारदेखि बुटवलमा सुरु भएको सञ्चारकर्मीका लागि डिजिटल प्रविधि तथा अनलाइन व्यवस्थापन तालिमको उद्घाटन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन् ।

    उनले पछिल्लो समय नेताप्रति जनताको आक्रोश बढेको बताए । उनले भने, ‘राजनीतिक दलसँग पहुँचको आधारमा बजेट जाँदो रहेछ । निष्पक्ष रुपमा अघि बढ्नुपर्छ । ’

    मन्त्री गुप्ताले सामाजिक विकास मन्त्रालयले कसैलाई पनि काखा र पाखा नगरेको दावी गरे । उनले मुलुकको विकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र पिछडिएको क्षेत्रमा पुगेर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

    उनले हरेक संघ संस्था निष्पक्ष बन्नुपर्ने र यसका लागि मिडियाको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले हरेक मन्त्री, सरकारी कार्यालय प्रमुखहरुको सम्पत्ति छानबीन भए मुलुकको आर्थिक अवस्था ५० प्रतिशत सुधार हुन सक्ने बताए । उनले एकैपटक सबै कुरा सुधार गर्न नसकिने र क्रमशः सुधार गर्न सकिने उल्लेख गरे ।

    उनले यो डिजिटल युगमा आधुनिक प्रविधि लागू गर्न सके मुलुकलाई विकसित गर्न सकिने बताए ।

    कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोविन्द के.सी., नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, रुपन्देही जिल्ला अध्यक्ष रामराज पोख्रेल, सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, टुना टेक्नोलोजीका सर्वजीत मिश्रलगायतले बोल्दै प्रविधिलाई पछ्याउँदै जानुपर्ने बताए ।

    सञ्चारिका समूह लुम्बिनी प्रदेश सचिव माया के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पहिलो दिनको तालिममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष दीपक ज्ञवाली र कृष्ण न्यौपानेले सहजीकरण गरेका थिए ।