
शनिवार , पौष २८, २०८०
रुपन्देही, २८ पुस ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएको बताएका छन् । जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान नदिएको बताउँदै उपाध्यक्ष पौडेलले सरकार सत्ता र शक्ति बचाउनमा मात्र सरकार लागिपरेको बताए ।
शनिबार बुटवलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औं साधारण सभा तथा १० औं अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले देशका तमाम समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने दावी गरे । उनले भने, ‘वर्तमान सरकार, जनताका मुद्दा, चासो, समस्याका विषयमा सरकार जानकार छैन जनताका समस्या समाधान गर्न एमाले नेतृत्वको आवश्यक छ । ’
रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले बढ्दो विज्ञान र प्रविधिको भरपुर उपयोग गर्दै त्यहीअनुसार नयाँ युवा पुस्ताले अनुसरण गर्दै अघि बढनुपर्नेमा जोड दिए ।
सोही अवसरमा नेता पौडेलले महासंघद्धारा नवनिर्मित राजेन्द्र स्मृति पुस्तकालय भवनको उद्घाटनसमेत गरेका थिए । समाजमा पठन संस्कृतिको विकास र विस्तार गर्न जरुरी रहेको उनले बताए । नेता पौडेलले पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन हुने आशा व्यक्त गरे ।
कार्यक्रममा जिल्ला अध्यक्ष रामकृष्ण चापागाईंले महासंघले आफ्नो नेतृत्वमा सम्पन्न गरेका विभिन्न कार्यक्रमहरुबारे चर्चा गर्दै कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन गर्न आफू नेतृत्वमा नरहे पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
महासंघका केन्द्रीय महासचिव शिवसागर सुवेदीले महासंघको अगुवाइमा समयमै देशका सबै जिल्लाका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाएको बताए । राष्ट्रिय पुस्तक नीति नहुँदा महासंघ अभिभावकबिहीन जस्तै भएको बताउँदै यसलाई तत्काल जारी गर्न आग्रह गरे । पठन संस्कृतिको विकासका लागि बिभिन्न समयमा पुस्तक प्रर्दशनी लगायतका कार्यक्रम गर्दै आइरहेको बताउँदै महासंघको अभियानमा जोडिन उनले आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जन, पूर्व केन्द्रीय अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पूर्व केन्द्रीय अध्यक्ष नवनिधि पन्थ, केन्द्रीय उपाध्यक्ष दिवाकर घिमिरे, संघका रुपन्देही सल्लाहकार तथा पूर्व केन्द्रीय अध्यक्ष मनहरि बस्याल, पूर्व रुपन्देही जिल्ला तथा महासंघका केन्द्रीय उपमहासचिव यमलाल लोहनी, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेल, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासंघ पाल्पा जिल्ला अध्यक्ष किशोर भट्टराई, एनप्याब्सन रुपन्देहीका उपाध्यक्ष बाबुराम बञ्जाडे, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, अभिभावक संघ रुपन्देही जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीलगायतले आ–आफ्नो भनाइ राख्दै पठन संस्कृतिको विकासका लागि अभियान सञ्चालन गर्नुपर्ने बताए ।
नयाँ नयाँ प्रविधि र टेक्नोलोजीको विकास भइरहेको अवस्थामा पुस्तकालयलाई प्रविधिमैत्री बनाउँदै रिसर्च सेन्टरको रुपमा विकास गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा महासंघले प्रकाशन गरेको वार्षिक स्मारीका विमोचन गरिएको थियो भने पूर्व केन्द्रीय अध्यक्ष तथा पूर्व रुपन्देही जिल्ला अध्यक्षहरुलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट व्यवसायीलाई सम्मान र जिल्लास्तरीय सिर्जनशील हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
वरिष्ठ उपाध्यक्ष गोपाल बस्यालको धन्यवाद मन्तव्य तथा जिल्ला सचिव कृष्णबहादुर कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij