
मंगलवार , पौष २४, २०८०
भैरहवा, २४ पुस ।
३३ औं प्याब्सन दिवसको अवसर पारेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगर, रुपन्देहीले सम्मान तथा आर्थिक सहयोग कार्यक्रम गरेको छ । मंगलबार भैरहवामा प्याब्सन सिद्धार्थनगरले आयोजना गरेको कार्यक्रममा सनशाइन आवासीय माध्यमिक विद्यालयका संस्थापक डा. ज्ञानदेव हटुवाल र लुम्बिनी शिशु सदनका संस्थापक यम बहादुर रसाइलीलाई सम्मान गरेको हो ।
२०३८ साल असार ८ गते निजी लगानीमा सन शाइन आवासीय मावि स्थापना गरी अविच्छिन रुपमा शिक्षाको विकासमा योगदान पुर्याएको योगदानको कदर गर्दै डा. हटुवाललाई सम्मान गरिएको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले बताए । डा. हटुवाल प्याब्सनका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार समेत हुन् ।
त्यस्तै २०३५ साल पुस १ गते निजी लगानीमा लुम्बिनी शिशु सदन विद्यालय स्थापना गरी निजी शिक्षालयको मात्र नभइ समग्र नेपालको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रसाईलीलाई सम्मान गरिएको पोखरेलले बताए । रसाईली प्याब्सन रुपन्देहीका पूर्वअध्यक्ष समेत हुन् ।
डा. हटुवाल र रसाइलीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
त्यस्तै कार्यक्रममा क्यान्सरपीडित पत्रकार मनोरञ्जन शर्मालाई नगद रु. २५ हजार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष पन्थीले अग्रज व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा गौरवको अनुभुति भएको बताए । उनले पत्रकार मनोरञ्जन शर्माले पत्रकारिता क्षेत्रको माध्यमबाट अतुलनीय योगदान पुर्याएको र उहाँलाई आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले गुणस्तरीय शिक्षा प्रदान गर्न निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।
सम्मानित डा. हटुवाल र रसाइलीले सम्मान गर्ने प्याब्सन सिद्धार्थनगरलाई धन्यवाद दिदै प्याब्सनले विभिन्न रचनात्मक कार्य गर्दै आएको बताए ।
प्याब्सन सिद्धार्थनगरका कार्यसमिति सदस्य युवराज पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij