
शुक्रवार , पौष २०, २०८०
बुटवल, २० पुस ।
सेवाग्राहीसँग सहज सञ्चार तथा द्वन्द व्यवस्थापनबारे रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दुईदिने तालिम शुक्रबार सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. सुदर्शन थापाले सेवाग्राहीको आत्मसम्मानमा कुनै पनि ठेस नपुग्ने गरी काम गर्न निर्देशन दिए । अस्पतालमा कुनै एक जना सदस्यले गर्ने गलत व्यवहारका कारण सिंगो अस्पतालप्रति सेवाग्राहीको नकारात्मक धारण सिर्जना हुने बताउँदै मेसु थापाले नम्र बोली र सम्मानसहित व्यवहार गर्न आग्रह गरे ।
अस्पतालले सेवाग्राहीसँगको अन्तरसम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी अस्पतालमा कार्यरतहरुलाई सहजीकरण गर्दै आएको छ ।
अस्पतालमा बिहीबार हेल्प डेस्का कार्यरत ५ तथा काउण्टर शाखाका कार्यरत ९ गरी १४ जनालाई सहजीकरण गरिएको थियो ।
त्यसै गरी शुक्रबार पनि बहिरङ्ग तथा आकस्मिक कक्षको ल्याब शाखाका कार्यरत १६ जना र सामाजिक सेवा ईकाईमा कार्यरत ५ गरी २१ जनालाई द्वन्द व्यवस्थापनबारे तालिम प्रदान गरिएको थियो । कार्यक्रममा कस्तो अवस्थामा द्वन्द सिर्जना हुन सक्छन् र त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे सहजीकरण गरिएको अन्तरवैयक्तिक सञ्चार विभागकी प्रमुख माधुरी ज्ञवालीले जानकारी दिइन् ।
सीमित स्रोतसाधनका बीच सेवा दिनुपर्दा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले झेल्नुपर्ने दबाबका बीच सेवाग्राहीको अपेक्षासँग कसरी सन्तुलन मिलाउने भन्ने विषयमा छलफल गरिएको ज्ञवालीले बताइन् ।
सहभागीहरुले सेवा प्रदान गर्ने समयमा भोग्नुपरेका समस्या तथा आफूले अनुभव गरेका सकारात्मक घटनाहरु बारेका चर्चासहित छलफल गरेका थिए । द्वन्द व्यवस्थापन सम्बन्धि कार्यक्रमले अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग गरिरहेको विभाग प्रमुख ज्ञवालीले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij