२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

फर्सवा टाकुरा माविमा गुरु सम्मान तथा पुर्नमिलन कार्यक्रम

बिहिवार , पौष १९, २०८०

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, १९ पुस ।
    अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ३ खिदिमस्थित श्री फर्सवा टाकुरा माध्यमिक विद्यालयमा गुरु सम्मान तथा अग्रज अनुज पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयबाट वि.सं. २०४९, २०५० र २०५१ सालको एसएलसी परीक्षामा सहभागी समूहको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको पूर्व विद्यार्थी कमल ज्ञवालीले बताए ।

    एसएलसी २०४९ समूहका विद्यार्थी विद्यार्थी कमल ज्ञवालीको अध्यक्षता तथा निर्माण व्यवसायी एवं समाजसेवी लंक बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले आफूले यो विद्यालयमा पुस्तकालय स्थापना गरेको र प्लस टु सञ्चालन गर्दा सक्दो भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले यस क्षेत्रको समग्र विकासमा तत्पर रहेको र विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड दिए ।

    त्यस्तै एसएलसी २०५१ समूहका विद्यार्थी रमेश ज्ञवालीले विद्यालयका पूर्व विद्यार्थीहरु एकजुट भइ यो विद्यालय र समाजको समग्र विकासमा टेवा पुर्याउने खालका कार्यक्रम आगामी दिनमा गरिने बताए । 

    विद्यालयका पूर्व विद्यार्थी कमल ज्ञवालीले विद्यालयका संस्थापक स्वर्गीय जीवनाथ गौतमको सपना साकार पार्न सबै प्रतिबद्ध हुनुपर्ने बताए । उनले विद्यालयको समग्र भौतिक तथा शैक्षिक गुणस्तर सुधार्न योगदान पुर्याएका साविक खिदिम गाविस तत्कालिन अध्यक्ष स्वर्गीय गणेश गौतमको विचारलाई कदर तथा अनुसरण गर्नुपर्नेमा जोड दिए।

    पूर्व विद्यार्थीहरुले अब २०४३ देखि यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी एकजुट भइ विभिन्न रचनात्मक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए ।

    पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, पाणिनी–३ का वडाअध्यक्ष युवराज ज्ञवालीको आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरु, भूतपूर्व विद्यार्थीहरु, अभिभावक, सामाजिक अगुवालगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा जनप्रतिनिधिहरुले यस क्षेत्रको शिक्षाको गुणस्तर सुधार्न विज्ञहरुको सुझाव लिए कार्यक्रम ल्याउने बताए । उनीहरुले ती कार्यक्रमहरुको सफल कार्यान्वयनमा मुलुकका हरेक क्षेत्रमा आफ्नो छुटै सफल पहिचान बनाउन सफल विद्यार्थीहरुको सहयोग अपेक्षा गरेको बताए ।

    कार्यक्रममा शिक्षक (गुरुहरुलाई) दोसल्ला ओढाएर मायाको चिनो दिइ सम्मान गरिएके पूर्व विद्यार्थी बसन्त केसीले बताए । त्यस्तै सम्मानित पूर्व प्रधानाध्यापक मुक्तिनाथ ज्ञवाली, ठाकुर प्रसाद गौतम, हालका प्रधानाध्पापक सुरेन्द्र राज अधिकारीले मन्तव्य राखेका थिए । 

    रमेश ज्ञवालीको स्वागत तथा एसएलसी २०५० समूहका विद्यार्थी विवेक पौडेलको धन्यवाद ज्ञापन तथा सन्तोष पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी एवं त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. दुर्गजंग केसी, पूर्व विद्यार्थी तथा कर्मचारी विनोद गौतम, प्रेमलाल ज्ञवाली, मोहन गौतम लगायतले भनाइ राखेका थिए ।