२०८३, कार्तिक ३ गते

Oct 19 2026 | २०८३, कार्तिक ३ गते

खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

मंगलवार , पौष १७, २०८०

  • 907
    Shares
  • 907
    Shares
  • काठमाडौं, १७ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका छन् । 

    मंगलबार काठमाडौंमा तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदको माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वासका साथै अन्तरनिहित प्रतिभाको विकास गर्न सक्ने भएकाले यस क्षेत्रको बिकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका हुन् ।

    खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने र सामाजिक परिबेशमा भिज्न योगदान पुराउने उनले बताए । उनले शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको पनि धारणा राखे । शिक्षण सिकाईका रुपमा खेलकुदलाई सवै बिद्यालयमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

    त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले विद्यार्थीहरुको आत्मबल बलियो बनाउनका लागि पनि विद्यालय खेलकुद महत्वपूर्ण हुने बताए । उनले आगामी दिनमा प्रतियोगितामा विद्यार्थीहरुको संख्या बढाउदै लैजाने उल्लेख गरे ।

    काठमाडौं महानगरद्वारा आयोजित प्रतियोगीतामा भलिवल खेलमा ८ सय जना, कवड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना गरी जम्मा ३ हजार २५० छात्रछात्रा खेलाडीले भाग लिनेछन् । तीन दिनसम्म चल्ने प्रतियोगीतामा ८३ विद्यालयको सहभागीता रहेको छ ।