सोमवार , पौष १६, २०८०
काठमाडौं, १६ पौष । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त घटनामा केहि कमजोरी देखिएको भन्दै अनुसन्धानबाट घटनाका दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।
अनुसन्धानलाई सहज बनाउन ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई जनही रु १० लाख राहतको व्यवस्था गरिएको बताए । मृतकको परिवारलाई इपिएस फण्ड र वैदेशिक रोजगार बोर्डमार्फत अतिरिक्त सुविधाका लागि पहल भइरहेको उनको भनाइ छ । प्रहरी बललाई स्थितिलाई नियन्त्रणमा लिनका लागि गोली नै नचलाउनु भन्ने सर्कुलर नै गरिएको उनले बताए । गृहमन्त्री श्रेष्ठले युवाहरुले प्रदर्शन गरिरहदा मन्त्री प्रकाश ज्वालाको गाडी प्रदर्शनस्थलमा पुगेपछि भीड थप आक्रामक देखिएको पाइएको उल्लेख गरे ।
बैठकमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ईपिस कार्यालयमा रहेको प्रदर्शनलाई तीतरवितर पारेको अवस्थामा मन्त्रीको गाडी पुगेपछि भीड आक्रमक देखिएको जिकिर गरे । मन्त्रीको सुरक्षाका लागि प्रहरीले बल प्रयोग गरेका कारण घटना घटेको उनको भनाइ छ । त्यस्तै उनले घटनामा मन्त्रीकोे पीएसओले प्रयाप्त जानकारी लिन नसकेको बताए । कुँवरले घटनालाई मध्यनजर गर्दै त्यसअघि नै २१५ नेपाल प्रहरी परिचालन गरिएको र ८ जना प्रहरी घाइते भएको जानकारी दिए ।
बैठकमा सांसदहरुले प्रशासनको कमीकमजोरीक कै कारण बालकुमारी घटनामा दुई युवाको ज्यान गएको भन्दै निष्पक्ष छानविन गर्नुपर्ने माग गरेका थिए । समिति सदस्य रवि लामिछानेले वैदेशिक रोजगारमा जान लागेका युवाहरुको गृह प्रशासनले हत्या गरेको आरोप लगाए । गृह मन्त्रालयको नेतृत्वको कमजोरीका कारण उक्त घटना भएको उनले बताए ।
त्यस्तै समिति सदस्य गगन कुमार थापाले बालकुमारीमा भएको घटनामा मन्त्री लगाएत सवैलाई छानविनको दायरामा ल्याउनुपर्ने बताए । उनले इपिएसमा धेरै अघि देखिएको समस्यमा समाधान समयमा नहुदा पनि घटना घट्न पुगेको बताए । थापाले माइतिघरको निषेधाज्ञा हटाउन पनि गृहमन्त्रीलाई सुझाव दिए ।
त्यस्तै समिति सदस्य रघुजी पन्तले बालकुमारी घटनामा गृहमन्त्रीको राजीनामाको कुरा आएकाले गृहमन्त्रीले नैतिक रुपमा सोच्नुपर्ने बताए । पन्तले उक्त घटनामा नेपालको प्रहरी प्रशासन गृहको नियन्त्रणमा नरहेको पुष्टि भएको जिकिर गरे ।
गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा दुई जना युवाको मृत्यु भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij