२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

बालकुमारी घटनाको विरोधमा रास्वपाद्वारा भैरहवामा प्रदर्शन

आइतवार , पौष १५, २०८०

भैरहवा, १५ पुस ।
ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध प्रदर्शन गरेको छ । रास्वपा रेपिड एक्सन टीम (र्याट) विभागको आयोजनामा देशव्यापी कार्यक्रम अन्तर्गत आइतबार भैरहवास्थित बुद्धचोकमा प्रदर्शन गरिएको पार्टी रुपन्देही क्षेत्र नम्बर ३ का सभापति ओम पौडेलले बताए ।

प्रदर्शनमा बोल्दै पार्टीकी केन्द्रीय सदस्य कुशुम महर्जनले राज्यलाई अभिभावकको रुपमा हेरे पनि बाँच्न पाउनुपर्ने अधिकार सुरक्षित हुन नसक्दा लाजमर्दा स्थिति भएको बताइन् । उनले बालकुमारी घटना अघि पनि यस्ता घटना भएको बताइन् । 

उनले भनिन्, ‘जनताको छोराछोरीले ज्यान गुमाउन नपरोस् । उनले सांकेतिक रुपमा विरोध गरिएको र आगामी दिनमा मुलुकमा हुने अनियमितताविरुद्ध सदनदेखि सडकसम्म रास्वपाले आवाज उठाउने बताइन् । ’

त्यस्तै रास्वपा लुम्बिनी प्रदेश इन्चार्ज गोली चलाउने आदेश दिने अधिकारीको छोराछोरीको मूल्य कति हो भन्दै प्रश्न गरे । उनले अब राज्यबाट नागरिकले आशा राख्न सक्ने अवस्था नरहेको बताए । उनले सरकारले नागरिकलाई रोजगारी दिनुको साटो नागरिकको हत्या गरेको बताए । उनले भने, ‘अब पुराना राजनीतिक दलहरुको औचित्य समाप्त भएको पुष्टि भयो । ’

रास्वपा लुम्बिनी प्रदेश सदस्य तथा निवर्तमान रुपन्देही जिल्ला संयोजक प्रकाश ज्ञवालीले दुई जना निर्दोश युवाहरुको हत्या गरिएको बताए । उनले राज्यलाई खबरदारी गर्न विरोध प्रदर्शन गरिएको बताए ।
पार्टीका सिद्धार्थनगर सभापति पर्शुराम पराजुलीले देशको होनहार युवाहरुको हत्या भएकाले शान्तिपूर्ण रुपमा प्रदर्शन गरिएको बताए । 

mmmm.jpg

सरकारले आफ्नो कार्यशैली नसच्याए आन्दोलनका कार्यक्रमलाई अझ सशक्त बनाउने रास्वपा सिद्धार्थनगरका निवर्तमान सभापति सुमन न्यौपानेले बताए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।