
शुक्रवार , पौष १३, २०८०
तिलोत्तमा, १३ पुस ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ जानकीनगरस्थित लुम्बिनी इन्टीग्रेटेड एकेडेमीमा स्नातक तह अन्तर्गत वन विज्ञान (बी.एस.सी. फरेष्ट्री) र कानून (बी.ए.एल.एल.बी.) को पढाइ सुरु भएको छ ।
शुक्रबार एकेडेमीले मणिग्राममा आयोजना गरेको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम उक्त जानकारी गराइएको हो । एकेडेमीका अनुसार लुम्बिनी प्रदेशमै स्नातक तहमा पहिलोपटक वन विज्ञानको पढाई सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।
४८ जनाको सिट संख्या रहेको ब्याचलर इन साइन्स (बी.एस.सी. फरेष्टी) ४ वर्षे कोर्ष हो । ८ वटा सेमेस्टर रहेको यो कोर्षको पढाइका लागि ७ लाख रूपैयाँ खर्च लाग्छ । कक्षा ११ र १२ मा विज्ञान विषय पढेकाहरूले बी.एस.सी. फरेष्ट्री पढ्न सक्छन् ।
त्यस्तै ब्याचलर इन ल (बीएएलएलबी) स्नातक तहको पाँचवर्षे कोर्स हो, जसमा १० वटा सेमेस्टर छन् । कानूनका विषयमा अध्ययन अनुसन्धान गर्ने कोर्स हो । यो पढ्न ६ लाख ५० हजार रुपैयाँ खर्च लाग्छ । ११ र १२ मा जुनसुकै विषय पढेकाले बी.ए.एल.एल.बी. पढ्न सक्छन् ।
एकेडेमीका बोर्ड सदस्य पुरन केसीले वर्तमान समयको आवश्यकता अनुसार एकेडेमी शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । उनले समुदायस्तरमा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी इन्टीग्रेटेड एकेडेमीका अध्यक्ष डा. घनश्याम पाण्डेले पछिल्लो समय स्नातक तहमा पढाइ हुने कलेजहरूमा विद्यार्थीको संख्या घटिरहेकोले यस्ता विषयले विद्यार्थीहरूमा आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा कलेजका निर्देशक केपी पन्त, नेपाल बार एशोसिएसनका उपाध्यक्ष पशुपति भण्डारी लगायतले कलेजको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij