
बिहिवार , पौष १२, २०८०
भैरहवा, १२ पुस ।
रुपन्देहीको भैरहवास्थित भीम अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मूल्यांकनमा ९० अंक प्राप्त गरेर अस्पताल तेस्रो हुन सफल भएको हो ।
देशभरका जिल्ला र प्रादेशिक अस्पतालहरुमा यो अस्पताल टप टेन भित्र पर्न सफल भएको छ । भक्तपुर अस्पतालले ९७ अंक ल्याएर मुलुकमै प्रथम भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा स्वास्थ्य मापदण्डमा बर्दिया अस्पताल प्रथम, कपिलवस्तु अस्पताल दोस्रो र भीम अस्पताल तेस्रो भएको हो ।
बिहीबार भैरहवामा आयोजित न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन समीक्षा गोष्ठीमा भीम अस्पताल प्रदेशमा तेस्रो भएको जानकारी गराइएको हो । अघिल्लो वर्ष भीम अस्पतालले न्यूनतम स्वास्थ्य मापदण्डमा ८८ नम्बर प्राप्त गरेको थियो । अहिले २ अंक थप प्राप्त गरी ९० पाएको छ ।
न्यूनतम मापदण्ड सेवा मूल्यांकनका संयोजक तथा गुल्मी अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.किशोर बन्जाडेले भीमले अस्पतालले विशेषज्ञदेखि उपचार सेवा सुधार गर्दा प्रदेशमा तेस्रो र देशभरमा आठौं नम्बरमा पर्न सफल भएको बताए ।
भीम अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्यांक अधिकृत रामजनम चौधरीले अस्पतालको टीमको मिहिनेतका कारण भीम अस्पतालले ८८ नम्बरबाट २ अंक थप प्राप्त गरी ९० पुगेको बताए । उनले भने, ‘आगामी दिनमा पनि यहाँहरुको पहल र प्रयासबाट ९० बाट अझ बढ्ने विश्वास छ ।’
अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्त कुमार शर्माले विगतमा सीमित जनशक्तिबाट बिरामीलाई सेवा प्रदान गरिएको यो अस्पतालमा विशेषज्ञ डाक्टरहरुको संख्या बढेको बताए । उनले अस्पतालमा मुटुरोग विशेषज्ञको आवश्यकता रहेको बताए । उनले भने, ‘अस्पताल यहाँसम्म आइपुग्न साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा विकास समितिको मिहिनेतका कारण अस्पताल यहाँसम्म आइपुगेको बताए । उनले सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे । उनले कमिसन पाउने लोभमा रिफर गर्न नपर्ने बिरामीलाई रिफर नगर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले गल्ती गर्ने व्यक्तिले महसुस गरेर सुधार गर्न सकिने बताए । उनले भीम अस्पतालमा धेरै परिवर्तन भएको यो अस्पताल राम्रो भएकाले बिरामीको रोजाइमा पर्न सफल भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij