२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

लुम्बिनी प्रदेशलाई शिक्षाको हब बनाउन चाहन्छौं : मन्त्री पाण्डेय

मंगलवार , पौष १०, २०८०

भैरहवा, १० पुस ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रदेश सरकारले पर्यटन र कृषि मात्र नभइ प्रदेशलाई शिक्षाको हब बनाउन चाहेको बताएका छन् । उनले लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई शिक्षाको प्रमुख केन्द्र बनाउन चाहेको बताए ।

रुपन्देहीको सैनामैना नगरपालिका–३ स्थित सुनगाभा पब्लिक स्कूलको २७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको मंगलबार उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘यो प्रदेशलाई विश्वमा नै शिक्षित प्रदेशको रुपमा चिनाउन चाहन्छौं । साक्षरता अभियान मात्र होइन, प्रदेश सरकारले शिक्षित प्रदेशको रुपमा स्थापित गर्नेछ भन्ने नीति, कार्यक्रम र योजना बनाइसकेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’ 

उनले अहिलेको युगमा प्राविधिक शिक्षालाई जग बनाएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘प्राविधिक शिक्षाको महत्वलाई बुझे परिणाम ल्याउन सक्छौं । विद्यार्थीबाट केही आशा गर्न सक्छौं ।’ अग्रजहरुबाट धेरै कुरा सिक्न सकिने उनको भनाइ छ । उनले शिक्षित व्यक्तिको संस्कार राम्रो नभए शिक्षा प्राप्त गर्नुको महत्व नहुने बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रदेश सरकारले आफ्नो दायित्व निर्वाह गर्ने दावी गरे।