
सोमवार , पौष ९, २०८०
भैरहवा, ९ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री भानु माध्यमिक विद्यालयमा निर्माण हुने चारकोठे भवनको सोमबार शिलान्यास गरिएको छ । भवनको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले शिलान्यास गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले शिक्षाको विकासले मुलुकको विकास हुने भएकाले प्रदेश सरकारले शिक्षाको विकासमा जोड दिएको बताए । उनले शिक्षाको विकासका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माणमा पनि उत्तिकै जोड दिनुपर्ने बताए । उनले विगतमा आफ्नो पिताले पनि भानु माविमा अध्यापन गर्नुभएको स्मरण गरे ।
विद्यार्थीहरुको पठनपाठनका लागि केही कक्षाकोठाको अभाव रहेकोले अब बन्ने भवनले सहयोग गर्ने श्री भानु माविका प्रधानाध्यापक मोतीलाल सुवेदीले बताए । उनले भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट ३० लाख रुपैयाँ उपलब्ध भएको र चैत महिनासम्म निर्माणसम्पन्न हुने गरी सम्झौता भएको जानकारी दिए ।
‘भवनको फिनिसिङलगायतका कार्यका लागि थप बजेट आवश्यक पर्छ, बजेटका लागि प्रदेश सरकारसँग माग गरेको छौं, ’सुवेदीले भने । उनले भवनका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारलाई धन्यवाद दिदै भवन निर्माण कार्य पूर्ण रुपमा सम्पन्न गर्न आवश्यक थप बजेट विनियोजन गर्न आग्रह गरे ।
भवन शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खान, समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
मन्त्री पाण्डेयको निजी सचिवालयका जैनुद्दीन देवानका अनुसार संसदीय विकास कोषको बजेट ३० लाख रुपैयाँमा भवन निर्माण सुरु भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij