२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

सिद्धार्थनगरमा एमालेबाट मेयरको उम्मेदवार बनेका बस्याल पार्टीबाट निष्काशित

शनिवार , पौष ७, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ७ पुस ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका नेता डा. रामप्रसाद बस्याललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेका बस्याललाई एमालेले निष्काशन गरेको हो ।

    एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले शनिबार एक विज्ञप्ती जारी गर्दै एमाले नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र यसका मूलभूत मान्यताप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको भन्दै त्यसविपरीत हिंडेकाले बस्याललाई पार्टीबाट निष्काशन गरिएको जनाएका छन् ।

    एमालेमा बसेर नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीतिविरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने र यसप्रकारको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै विज्ञप्तीमा बस्याललाई आजकै मितिदेखि लागू हुने गरी निष्काशन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

    Press release uml 7-page-001.jpg

    पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा भोलि (आइतबार) आउने तयारी छ । भैरहवाका पुराना बामपन्थी नेता बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटी पूर्वसल्लाहकार हुन् । उनी गत स्थानीय निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा उम्मेदवार बनेका थिए ।

    यसअघि प्रतिक्रिया लिने क्रममा डा. बस्यालले आफूले एमाले छाडिनसकेको तर धर्मनिरपेक्षता र प्रदेश संरचनाका विषयमा पार्टीसँग असहमत रहेको बताएका थिए ।

    ‘धर्मनिरपेक्ष राष्ट्र र प्रदेशसहितको संघीयताप्रति जनता सहमत छैनन्, विरोधमा छन्’, बस्यालले भनेका थिए, ‘यी दुई एजेण्डामा म पनि पार्टीसँग सहमत थिइन, देश बचाउन पूर्वराजाले गर्ने राम्रा काममा मेरो समर्थन रहन्छ ।’