२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

‘विभेद र लान्छनाका कारण कुष्ठरोगी अझै खुल्न सकेनन्’

शनिवार , पौष ७, २०८०

भैरहवा, ७ पुस ।
समाजमा विभेद र लान्छनाका कारण अझै पनि कुष्ठरोगी खुल्न नसकेको पाइएको छ । समाजमा अझै पनि रोग लुकाउने, लुकिछिपी बस्ने, बाहिर खुलेर कुरा नगर्ने अवस्थाका कारण समस्या भएको सरोकारवालाले बताएका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देही, द लेप्रोसी मिसन नेपाल अन्तर्गत डिजनिटी एक्सटेन्सन परियोजनाको आयोजनामा शुक्रबार भैरहवामा भएको सरोकारवालाहरुका लागि कुष्ठरोग अभिमुखीकरण तथा अन्तरिक्रया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । समाजमा कुष्ठरोगप्रतिको पुरानो धारणामा अझै पूर्ण रुपमा परिवर्तन आउन नसकेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरव ढकालले समाजमा विभेद र लान्छनाका कारण कुष्ठरोगीहरु अझै पनि खुल्न नसकेको बताए । उनले भने, ‘समाजमा अझै पनि रोग लुकाएर बस्ने, लुकेर बस्ने प्रवृत्ति छ । हामी रोगीहरुलाई कसरी खुलाउने, पहिचान गर्ने, पहिचान गरिसकेपछि औषधी खुवाउने र निको पार्ने अभियानमा लागेका छौं । कुष्ठरोगका बिरामीहरुका लागि सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क उपचार हुन्छ । निर्धक्क भएर औषधी खान म आग्रह गर्दछु ।’

ढकालले घरघरमा पुगेर पनि कुष्ठरोगी पत्ता लगाइएको जानकारी दिए । रोग लागिसकेपछि हेरचाह नगरे शरीर अंगभंग हुन सक्ने उनले जानकारी दिए । कुष्ठरोगीको संख्या (प्रिभलेन्स रेट) घटाउन विभिन्न जनचेतनामूलक कार्यक्रम, छलफल, अन्तरक्रिया लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ ।

रुपन्देहीका केही पालिकामा कुष्ठरोगको ‘प्रिभलेन्स रेट’ (दर) बढी भएको उनले बताए । उनले प्रति १० हजार जनसंख्यामा १ भन्दा कममा रोगी झार्ने लक्ष्य भए पनि जिल्लामा १ भन्दा बढी रहेको बताए । उनले जिल्लामा कुष्ठरोगको ‘प्रिभलेन्स रेट’ १.३० रहेको बताए । उनले बालबालिकाहरुमा पनि कुष्ठरोग देखिएको बताए । 

nmk.jpg

द लेप्रोसी मिसन नेपाल अन्तर्गत डिजनिटी एक्सटेन्सन परियोजनाकी सीता आलेले कुष्ठरोगीहरु अझै पनि बाहिर देखिन नचाहेको पाइएको बताइन् । उनले कहिलेकाही शरीरमा समस्या आउँदा पनि उपचारमा नजानाले स्वास्थ्य समस्या बढ्ने गरेको बताइन् । उनले भनिन्, ‘कुष्ठरोग हो भन्ने पत्ता लागिसकेपछि बिरामीहरु समुदायमा खुल्न चाहँदैनन् । केही व्यक्तिहरु खुलेर कुरा गर्नुभएको छ । तर, धेरैजसो बाहिर खुलेर कुरा गर्न सक्ने अवस्था छैन ।’

द लेप्रोसी मिसन नेपालका अनुसार रुपन्देहीमा आर्थिक वर्ष २०८०/८१ को साउनदेखि कार्तिक महिनासम्ममा सैनामैना नगरपालिकामा ४, कञ्चन गाउँपालिकामा ३, गैडहवा गाउँपालिकामा १, शुद्धोधन गाउँपालिकामा २, सियारी गाउँपालिकामा १, तिलोत्तमा नगरपालिकामा ७, ओमसतिया गाउँपालिकामा १८, रोहिणी गाउँपालिकामा १, सिद्धार्थनगर नगरपालिकामा १, मायादेवी गाउँपालिकामा ५ र कोटहीमाई गाउँपालिकामा १ जना कुष्ठरोगका नयाँ बिरामी रहेका छन् ।