२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

कालिका शैक्षिक पत्रकारिता पुरस्कारबाट परियार र पराजुली पुरस्कृत

शुक्रवार , पौष ६, २०८०

बुटवल, ६ पुस ।
कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल, रुपन्देहीले ६३ औं वार्षिकउत्सवका अवसरमा पत्रकारिता पुरस्कारसहित विभिन्न छात्रवृति वितरण गरेको छ । शुक्रबार ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पत्रकारिता क्षेत्रबाट शिक्षामा योगदान पुर्याएको भन्दै पत्रकार विनोद परियार र विकास पराजुलीलाई पुरस्कृत गरेको छ । 

भिमबहादुर श्रेष्ठ फुलमाया श्रेष्ठ अक्षयकोषद्धारा स्थापित कालिका शैक्षिक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव समेत रहेका परियार पुरस्कृत भएका हुन । विगत १६ वर्षदेखि बुटवललाई कार्यथलो बनाएर पत्रकारिता गर्दै आएका परियारले खोजमूलक समाचार प्रकाशित गरेको भन्दै पुरस्कृत गरेको विद्यालयले जनाएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, कालिका मानवज्ञान मावि व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, पुरस्कारका संरक्षक भिमबहादुर श्रेष्ठ र प्रधानाध्यापक दिनेश थापाले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।

त्यस्तै स्व. अरुण पौडेल अक्षयकोषद्धारा स्थापित पत्रकारिता पुरस्कारबाट पत्रकार पराजुली पुरस्कृत भएका छन् । उक्त अवसरमा विद्यालयले १६५ जना विद्यार्थीहरुलाई विभिन्न छात्रवृति वितरण गरेको छ । ६० वटा अक्षयकोषबाट १० लाख बराबरको छात्रवृति वितरण गरिएको जनाइएको छ । 

वार्षिकउत्सवलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कालिका शिक्षामा अब्बल रहेको बताउँदै अब बुटवललाई पहिचान दिने गरी रचनात्मक काम गर्न सुझाव दिए । उनले उपमहानगरको तर्फबाट शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । नगरप्रमुख पाण्डेयले सिप, संस्कार, बुटवलको पहिचान र भूगोलसहितको शिक्षा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयहरुमा बुटवल भेटिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कालिका मानवज्ञान क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द पाण्डेय, प्रधानाध्यापक दिनेश थापा लगायतले बोल्दै कालिकालाई शैक्षिक रुपमा गुणस्तरीय बनाउने प्रतिवद्धता जनाए । उक्त अवसरमा खेलकुद प्रतियोगिता, गायन प्रतियोगिता र अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत गरिएको थियो ।