मंगलवार , पौष ३, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सहज र स्वाभाविक नदेखिएकाले नै छानविन प्रक्रिया अघि बढाइएको बताएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसले प्रकरण मुुलुकको हित बिपरित देखिएको र शेयर बिक्री प्रक्रियासहज र स्वाभाविक नदेखिएकाले नै छानविन प्रक्रिया अघि बढाइएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्री प्रक्रियाका क्रममा विदेशमा खडा गरिएको कम्पनीको मालिकलाई आफु लगाएत शेर बहादुर देउवा र केपी ओलीले समेत चिनेको भन्दै व्यक्तिगत सम्बन्ध भएकै कारण कसैलाई छुट नहुने स्पष्ट पारे ।
उनले एनसेल प्रकरणमा कतै कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेकोबारे जानकारी गराए ।
नेपालको राजस्व, लगानी र दूरसञ्चारको विकासमा पर्ने पार्ने प्रभावका बारेमा गहन र विस्तृत अध्ययन तथा छानबिन गर्नुपर्ने आवश्यकता महसुस गरी पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको उनले बताए ।
उनले सुशासन, समृद्धिको पक्षमा आफ्नो प्रतिवद्धता अनुसार काम गर्न नपाएको र अझै भ्रष्टाचारमाथि निर्मम भएर काम गर्न इच्छा भएको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले आफु पछिल्लो पटक प्रधानमन्त्री भएको १ बर्ष भएको र राष्ट्रको नाममा सम्बोधन गर्ने तयारीमा रहेको बताए ।
त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल प्रकरण बाहिर आएपछि तत्कालै आवश्यक चासो लिई नियामक निकायसँग बुझ्ने काम भएको जानकारी दिइन् । उनले छानबिन समितिले अहिले काम अघि बढाइरहेकाले वैदेशिक लगानीको अवस्था, शेयर खरिद– बिक्रीको पारदर्शिता, कर र राजस्वको विषयमा प्रतिवेदन दिएपछि थप कदम चाल्ने जिकिर गरिन् ।
उनले दूरसञ्चार ऐनको आवश्यकता महशुस भएको छिटै यसलाई अघि बढाउने तयारीमा मन्त्रालय रहेको बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij