मनोरञ्जन, जानकारी, अध्ययन र मन बहलाउन लगायत विभिन्न उद्देश्य राखेर घुमफिर गर्ने व्यक्तिलाई पर्यटक भनिन्छ । सामान्यतया बिहान गन्तव्यमा पुगेर तुरुन्तै फर्किनेलाई पर्यटक मानिदैन । कम्तिमा गन्तव्यमा एक दिन बिताउने र केही खर्च गर्ने व्यक्तिलाई पर्यटक भनिन्छ ।
यसरी घुम्न आउने व्यक्तिलाई विभिन्न सेवा (हस्पिटालिटी) बेच्ने व्यक्तिलाई पर्यटन व्यवसायी भनिन्छ । यसरी गरिने घुमफिर÷भ्रमण र यससँग सम्बन्धित रहेर गरिने व्यवसायलाई पर्यटन भनिन्छ ।
लुम्बिनी प्रदेश पर्यटकीय सम्भावनाको खानी हो । ६ पहाडी र ६ वटै भारतसित सीमाना जोडिएका तराईका जिल्ला प्रदेशमा छन् । सीमा जोडिएका तराईका जिल्लाबाट नजिकै तीव्र आधुनिकीकरण भइरहेका ठूला भारतीय सहर छन् । त्यसबाहेक दक्षिण भारतबाट यहाँका धार्मिक पर्यटकीय क्षेत्रमा आगन्तुक धेरै छन् । पश्चिम नवलपरासीदेखि बर्दियासम्म धेरै सीमा नाका भएकाले यही प्रदेश भएर भारतीय पाहुनाले मुलुकका अन्य क्षेत्रमा ओहोरदोहोर गर्छन् ।
अर्कोतर्फ लुम्बिनी आफैंमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि महत्वपूर्ण ‘सेतु’का रुपमा रहेको छ । कर्णाली प्रदेशलाई भारतीय नाकासम्म यही प्रदेशले जोड्छ । सुदूरपश्चिमलाई बाँकी मुलुकसम्म डो¥याउँछ । गण्डकीका लागि आयातित वस्तु पठाउँछ । लुम्बिनी प्रदेशमा रुपन्देहीस्थित बेलहिया नाका हुँदै प्रत्येक वर्ष मुलुकमै धेरै पर्यटक भित्रिने गरेका छन् । कोरोना महामारीपछि अहिले उक्त नाका हुँदैपर्यटक भित्रिने क्रम वृद्धि भएको छ । अर्कोतर्फ कपिलवस्तुको कृष्णनगर नाका हुँदैं भारतीय आध्यात्ममा विश्वास गर्ने पर्यटक भित्रिने गरेका छन् । प्रत्येक वर्ष कृष्णनगरबाट प्युठानको स्वर्गद्वारी लगायत धार्मिक धाममा पुग्ने भारतीयको ओइरो नै लाग्छ । दैनिक सयौं गाडी भित्रिने गरेका छन् ।
पश्चिम बाँकेको नेपालगञ्जस्थित जमुनाह नाका पर्यटक आगमनका लागि प्रख्यात छ । रुपन्देहीको बेलहिया हुँदैसार्क र तेस्रो मुलुकका पर्यटक धेरै आउँछन् । जमुनाहबाट भारतीय पर्यटक धेरै आउने गरेका छन् । नेपालगञ्ज मानसरोवर यात्राको प्रस्थान बिन्दु हो । त्यसैले मानसरोवर पुग्ने भारतीयले वर्षमा एकपटक नेपालगञ्जका होटल भरिन्छन् । त्यसबाहेक व्यक्तिगत र पारिवारिक भ्रमणका लागि आउने पर्यटक धेरै हुन्छन ।
हवाई र सडक सञ्जाल
पर्यटन प्रवद्र्धनकालागि हवाई र सडक सञ्जाल (कनेक्टीभिटी) मुख्य प्राथमिकता हुन् । लुम्बिनी प्रदेश स्थल र हवाई माध्यमबाट अन्तराष्ट्रिय सञ्जालमा जोडिएको छ । १ वर्षदेखि रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । अहिले अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेका छैनन । तर, धेरै अन्तर्राष्ट्रिय उडान कम्पनीले चासो दिइरहेका छन् । चाटर्ड उडान भइरहेका छन् । अहिलेसम्म काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा त्यसको विकल्पको रुपमा भैरहवा चालु छ ।
नेपालगञ्जस्थित राझा विमानस्थललाई क्षेत्रीय उडानका लागि विस्तारको काम भइरहेको छ । नेपालगञ्जबाट लुम्बिनी र कर्णालीका पहाडी र हिमाली जिल्लामा उडान भइरहेका छन् ।
निकट भविष्यमा नयाँ दिल्ली उडानको तयारी छ । तराईका भैरहवा र नेपालगञ्जबाट पोखरा, चितवन उडान भइरहेका छन् । यसले आन्तरिक हवाई सञ्जालमा विस्तार भइरहेको छ । यी विमानस्थलबाट रात्री उडान सम्भव छ । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा समेत विमानस्थल छन् । अहिले गुल्मीबाट सातामा एकपटक भएपनि उडान सुरु भएको छ । अर्घाखाँचीमा विमानस्थल निर्माणाधीन छ । दाङबाट काठमाण्डौं उडान भइरहेकोछ । यसले प्रदेशमा पर्यटक आवागमन सहज छ ।
अर्कोतर्फ प्रदेशका सबै जिल्लामा सडक सुविधा छ । ग्रामीण सडक विस्तार र पक्कि निर्माणले सवारीका साधन घरदैलोमा पुगिरहेका छन् । प्रदेशका प्रत्येक पर्यटकीय क्षेत्रसम्म सडक पहुँच भएकाले पर्यटकलाई सुविधा छ । पहुँच नभएका स्थानमा समेत स्थानीय, प्रदेश र संघीय सरकारले सडक पूर्वाधार निर्माण अगाडि बढाएका छन् ।
तराईका जिल्लामा अहिले गाडी सञ्चालनको समस्या छैन । तर, पर्यटकीय क्षेत्र लक्षित गरेर बस सञ्चालन जरुरी छ । पहाडमा निजी यातायात कम्पनीले गाडी सञ्चालन गरिरहेका छन् । अर्घाखाँचीमा त घरघरै टयाक्सी पुग्ने गरेका छन् । तराईका जिल्लाबाट भारतीय शहर आउजाउ सहज छ । पछिल्लो समय पहाडी अर्घाखाँचीबाट सिधै नयाँ दिल्लीसम्म बस सेवा सञ्जालनमा रहेको छ । यसले रोजगारी र घुम्न जानेका लागि सुुविधा छ ।
बुद्ध पर्यटन
लुम्बिनी प्रदेशको पर्यटन विशिष्ट खालको छ । संघीय राजधानीबाट टाढा भएकाले परम्परादेखि यहाँको पर्यटनले मार खाँदैआएको हो । पर्यटन प्याकेज विक्री गर्ने टुर अपरेटर कम्पनीले हवाई र सडक यात्रामा खर्च धेरै लाग्ने जनाउँदै यहाँका विशेषतासित परिचित पर्यटकलाई समेत पोखरा र चितवन केन्द्रित गर्दै आएका थिए । ती अधिकांश पर्यटक वन्यजन्तु सफारी र स्थानीय संस्कृति र रहनसहन हेर्न र बुझ्न आउने गरेका हुन् ।
हामीसित बुद्ध जन्मस्थल रहेको रुपन्देहीको लुम्बिनी, बुद्धको दरबार रहेको तिलौराकोट र अस्तु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम रहेका छन् । यी तीन स्थल प्रमुख हुन् । तर तीन जिल्लामा सयौं बुद्ध स्थल छन् । केहीको उत्खनन र अध्ययन भएको छ । धेरै स्थान अहिलेपनि माटोमुनि छन् ।
अहिले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न अन्तिम तयारी चलिरहेको छ । तिलौराकोटको गुरुयोजना निर्माण गरेर विकास हुनेछ । रामग्राम गुरुयोजना तयार भइसकेको छ । बुद्ध दर्शन र ज्ञानका लागि कपिलवस्तु आफै विश्वविद्यालय हो । लुम्बिनी आगामी दिनमा मुलुककै पर्यटकीय केन्द्र बन्ने देखिन्छ । लुम्बिनी भन्नाले एउटै स्थानलाई बुझ्नु हुँदैन । त्यसैले अहिले ‘ग्रेटर लुम्बिनी’को अवधारण आएको छ ।
बुद्ध दर्शन सकिदैन । यसका अनुयायी नेपालमा मात्र छैनन । विश्वभरी बुद्ध धर्म÷दर्शनका अनुयायी रहेका छन् । अहिले विश्वमा जलवायू परिवर्तन, खनिज, उर्जा, परमाणु, पर्यावरण र महाशक्ति हुन लागिका प्रत्येक र अप्रत्यक्ष तनावको वातावरण छ । यस्तो बेला विश्वभर शान्तिको सन्देश यहीँ लुम्बिनी क्षेत्रबाट दिन सकिन्छ । आगामी दिनमा शान्ति महसुस गर्न धेरै यहाँ आउने छन् । अर्कोतर्फ सबै धर्मका आ–आफ्नै केन्द्र छन् । पवित्र स्थल छन् । बुद्ध धर्मकालागि लुम्बिनी मुख्य स्थल हो । त्यसैले धेरै पर्यटक भित्रिनेमा शंका छैन । कोरोना महामारी कम भएपछि लुम्बिनी र आसपास पर्यटक वृद्धि भइरहेका छन ।
बाँके र बर्दिया निकुञ्ज
प्रदेशका कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी बुद्ध स्थलका लागि प्रख्यात छन् । तीन जिल्लामा प्राकृतिक र अन्य धार्मिक पर्यटकीय स्थल भएपनि पर्यटनको केन्द्र बुद्ध नै हुन् । त्यस्तै प्रदेशको पश्चिम किनारमा रहेका बाँके र बर्दिया जिल्लाको पर्यटन पर्यावरण र वन्यजन्तु सफारीमा केन्द्रित छ । प्राकृतिक सौन्दर्य, सयौं प्रजातीका पंक्षी र सरिसृपदेखि हात्तीसम्म ठूला वन्यजन्तु रहेका बर्दिया र बाँके निकुञ्ज लुम्बिनी प्रदेशको पर्यटनका मेरुदण्ड हुन् । दुवै निकुञ्ज अहिलेसम्म नबिथोलिएका कारण ती ‘भर्जिन गन्तव्य’ हुन् ।
चितवन निकुञ्जको सफारी पर्यटन बिथोलिएका कारण बर्दिया उपयुक्त विकल्पका रुपमा अगाडि आएको छ । पछिल्लो समय बर्दिया ‘बाघ’ अवलोकनका कारण चर्चामा छ । बर्दिया पुग्ने सबै पर्यटकले बाघ सजिलै हेर्न सक्ने भएकाले आकर्षण बढेको छ । बाघ भन्नेबित्तिकै मनमा डर पैदा हुन्छ । बुद्ध सुन्ने वित्तिै मनमा शान्ति छाउँछ । अहिले आएर बाघ र बुद्धले लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन गरिरहेका छन् ।
यहाँको पर्यटनका लागि बाघ र बुद्ध ‘ब्राण्ड’ हुन् । यिनलाई केन्द्रमा राखेर हामीले प्रदेशमा रहेका अन्य गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । बाघ र बुद्ध दुवैले विदेशी पर्यटक भित्र्याइरहेका छन् । त्यसमा हाम्रो गाउँघरमा रहेको साँस्कृतिक विविधताले सुनमा सुगन्ध थपेको छ । निकुञ्जबाहेक प्रत्येक जिल्लामा केही न केही प्राकृतिक स्थल रहेका छन् । तीन पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेका छन् । पछिल्लो समय स्थानीय सरकार सञ्चालनमा आएपछि स्थानीयस्तरमा रहेका यस्ता ओझेलमा परेका गन्तव्यले प्रचार पाउन थालेका छन् । स्थानीय सरकारले लुकेका रमणीय स्थलको खोजी गरेर प्रवद्र्धन गरिरहेका छन् । यसले गन्तव्यमा विविधता थपिने क्रम जारी छ ।
धार्मिक धाम
लुम्बिनी प्रदेशका प्रायः स्थानीय तहमा मठ, मन्दिर, मस्जिद र धार्मिक धाम रहेका छन् । धेरै स्थानीय सरकारले मतदाताको आश्था जोडिएकाले मठ, मन्दिर र मस्जिदमा लगानी गरिरहेका छन् । तर, प्रदेशमा परम्परादेखि विभिन्न किंवदन्ती गाँसिएका ठूलाठूला धाम रहेका छन् ।
ती धामसित स्वदेश मात्र होइन विदेशीको समेत आस्था जोडिएको छ । धाममा वर्षमा दुई÷तीनपटक मेला लाग्छन् । पवित्र समयबाहेक पनि धाम अवलोकन, भ्रमण र पूजाका लागि स्वदेशी तथा भारतीय तिर्थालु ओइरिरहेका हुन्छन् । प्रदेशमा बर्दियाको ठाकुरबाबा, बाँकेको बागेश्वरी मन्दिर, प्यूठानको स्वार्गद्धारी, गुल्मीको रिडी, रेसुङगा, अर्घाखाँचीको सुपा देउरालीमा पछिल्लो समय धेरै श्रद्वालु पुग्ने गरेका छन् । यस्ता धाममा भारतीयको भीड लाग्छ ।
यसबाट स्थानीयले आम्दानी गरिरहेका छन् । यसबाहेक बाँके, कपिलवस्तु, रुपन्देहीमा ठूला मस्जिद रहेका छन् । परम्परा र इतिहासबोकेका यस्ता मन्दिर र मस्जिदले पर्यटक मात्र आकर्षित गरिरहेका छैनन । लुम्बिनी प्रदेशको सांस्कृति विविधता र परम्परालाई अगाडि बढाइरहेका छन् ।
‘हिल स्टेशन’
प्रदेशका सीमावर्ती ६ जिल्लामा चैतबाट असोज कार्तिकसम्म गर्मी हुन्छ । चर्को घाम लाग्ने उक्त याममा तराईका गन्तव्य भ्रमण सहज हुँदैन । वर्षायाममा बाढी आउने र प्राकृतिक क्षेत्रमा घाँस मौलाउने भएकाले सफारी पर्यटन सम्भव हुँदैन । गर्मीका कारण घर बाहिर हिंडडुल समस्या हुने भएकाले पर्यटकीय गन्तव्यमा मासिन पुग्दैनन ।
यस्तो बेला सीमावर्ती भारतीय र शहर मुलुककै जिल्लाका बासिन्दाको रोजाई पहाडी ‘हिल स्टेशन’ बनिरहेका छन् । गर्मी छल्ने पर्यटक लक्षित गरेर अहिले पाल्पा, अर्घाखाँची, दाङ लगायत जिल्लामा उच्च क्षेत्रमा रिर्सोट, होमस्टे र क्याम्पिङ साइट खुलिरहेका छन् । तराईबाट केही घण्टा यात्रा गरेर पुगिने यी क्षेत्र शीतल छन् ।
स्थानीय तहका प्राथमिकता
स्थानीय सरकार अहिले स्वायत्त छन् । आफै नीति तथा कार्यक्रम निर्माण गर्छन् । बजेट विनियोजन गर्छन् । पालिकाले पर्यटन क्षेत्रका लागि बजेट विनियोजन गर्ने परम्परा थालनी भएको छ । जसले गर्दा पालिकाभित्र ओझेलमा परेका धार्मिक, साँस्कृतिक, पुरातात्विक स्थलको पहिचान र संरक्षण गर्न थालिएको छ ।
पालिकाभित्र रहेका प्राकृतिक सम्पदा संरक्षणका साथै पर्यटकीय पूर्वाधार निर्माण गरेर घुमफिरको वातावरण तयार गरिएको छ । बालकदेखि वृद्धसम्मको मनोरञ्न र घुमफिरको चाहना पूरा गर्न
- माइस पर्यटन
- (भेला÷कार्यक्रम)
- स्वास्थ्य, शिक्षा, कृषि
- आयात–निर्यात
- साँस्कृतिक आदान–प्रदान
- खेल
- साहसिक
- जलयात्रा
- हाइकिङ
- अनुसन्धान
- घरबास
- खानपिन
- पंक्षी पर्यटन
पार्क निर्माण भइरहेका छन् । शहरको सौन्दर्य कायम गर्न सडक वृक्षारोपण भइरहेका छन् ।
शहरलाई आकर्षण तुल्याउन फुटपाथ व्यवस्थापनदेखि सडक फराकिला तुल्याउने गरिएको छ । कतिपय पालिकाले पर्यटन पूर्वाधारका नाममा मूर्ति, मठ, मन्दिर र मस्जिदलाई मात्र जोड दिएका छन् । केहीले दिगो र साझा किसिमका कार्यक्रममा लगानी गरिरहेका छन् । पालिकाले पूर्वाधारमा जोड दिएपनि दक्ष जनशक्ति, पथ प्रदर्शन, पर्यटन सूचना केन्द्र निर्माणमा ध्यान दिएको पाइँदैन ।
ग्रामीण पर्यटन
स्थानीयस्तरमा रहेका प्राकृतिक, धार्मिक, सामाजिक, साँस्कृतिक, जातीय, मानव निर्मित कलाकृति, भाषा, साहित्य, शिक्षा, स्वास्थ्य, पूर्वाधार र भौगोलिक विषयलाई पर्यटकीय ‘प्रोडक्ट’का रुपमा विकास गर्न सकिन्छ ।
ती विषयले आगन्तुकको ध्यानाकर्षण गर्न सक्छन । यस्ता सम्पदाको प्रवद्र्धन गरेर स्थानीयको जीविकोपार्जन पनि हुन्छ । यसरी विकास गरिएका स्थान, स्थल, विषयवस्तुको अध्ययन, अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटन आकर्षित गर्न सकिन्छ । त्यसले स्थानीयको आयआर्जन हुनुका साथै स्थानीय सरकारको राजस्व वृद्धि हुन्छ । यसबाट नागरिक र स्थानीय सरकार दुवैले लाभ लिन सक्छन् । ग्रामीण पर्यटनको विकासले मानिसको चेतना विकास गर्नुका साथै संस्कृति आदानप्रदानमा सघाउँछन् ।