२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

आफ्नो जिम्मेवारी पूरा गर्न जनप्रतिनिधि प्रतिबद्ध भएर लाग्नुपर्छ : उपसभामुख के.सी.

बुधवार , भाद्र ४, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ४ भदौ । लुम्बिनी प्रदेश सभाकी उपसभामुख मेनुका खाँण के.सी.ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन नहुँदा आफूहरु चिन्तित भएको बताउनुभएको छ । उहाँले विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकोप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले बुधबार भैरहवामा आयोजना गरेको तीज विशेष कार्यक्रम–२०८० मा बोल्नुहुँदै उपसभामुख के.सी.ले यस्तो बताउनुभएको हो । ‘यो विमानस्थलबाट पर्यटक लुम्बिनी आइदिए पर्यटनमार्फत यस क्षेत्रलाई आर्थिक समृद्धितर्फ लैजान सकिन्छ । तर, विमानस्थल सञ्चालन हुन नसक्दा निराशा बढेको छ । तैपनि अपेक्षा गरिरहनुपर्छ, ’उहाँले भन्नुभयो ।

    उहाँले नागरिकले जनप्रतिनिधिलाई झकझकाउनुपर्ने र जनप्रतिनिधि पनि आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसो हुन सके विकास कार्य नरोकिने उहाँको भनाइ छ ।

    उहाँले महिलाले आफ्नो हकअधिकार पाउनका लागि संघर्ष गरिरहनुपर्ने बताउनुभयो । महिलाहरु आर्थिक रुपमा सक्षम हुनुपर्ने उहाँ बताउनुभयो । महिला अरुमा निर्भर नभइ आफ्नो खुट्टामा उभिनुपर्ने उहाँले धारणा राख्नुभयो । ‘संविधानले सुनिश्चित गरेका महिलाका हकअधिकार हामीले लिन सक्नुपर्छ, मागेर नपाए खोसेर लिनुपर्छ, ’उहाँले भन्नुभयो । तीज पर्वले सामाजिक सदभावलाई अझ अगाडि बढाउन मद्दत गर्ने उहाँको भनाइ छ । तीजको धार्मिक, सामाजिक, आध्यात्मिक महत्व रहेको उहाँले बताउनुभयो । उहाँले तीज पर्वमा महिला मात्र नभइ पुरुष पनि व्रत बस्नुपर्ने धारणा राख्नुभयो । 

    रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा विकासलाई अगाडि बढाउन सक्ने सक्षम उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । उपसभामुख के.सी.ले सिद्धार्थनगर–४ ले राम्राराम्रा कार्यक्रमहरु सञ्चालन गरेको भन्दै प्रशंसा गर्नुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले वडा नम्बर ४ ले विकास निर्माण कार्यमा फड्को मारेको बताउनुभयो । उहाँले वडा कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरु सफल पार्न वडाबासीको महत्वपूर्ण साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

    दशैं–तिहारपछि वडामा एसियाली विकास बैंक (एडीबी) को परियोजना सुरु हुने र गाउँसमाजको मुहार फेरिने उहाँले बताउनुभयो । ‘परियोजना कार्यान्वयनका लागि वडामा आवश्यक सर्भेको काम सकिएको छ,’ पर्वलगत्तै विकासको काम सुरु गरिनेछ,’उहाँले भन्नुभयो । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहनुभएका यादवले विगतका वर्षझै यस वर्ष पनि तीज विशेष कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    वडा सदस्य हरि बहादुर के.सी.को स्वागत तथा सहायक कम्प्युटर अपरेटर कल्पना खनालको सञ्चालनमा भएको कार्यक्रममा फुलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङ, सिद्धार्थ बौद्ध गुम्बाका अध्यक्ष बुद्धि बहादुर गुरुङ, समाजसेवी अर्जुन गुरुङ, श्री बुद्ध सामूदायिक सेवा केन्द्रका अध्यक्ष श्रीचन्द जयसवाल लगायतले बोल्नुभएको थियो ।