२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

उपसभामुखलाई निशाना बनाइएको राप्रपा सांसदको आरोप

बुधवार , भाद्र ४, २०८२

  • 611
    Shares
  • 611
    Shares
  • काठमाडौं, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रश्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेको भन्दै सत्तारुढ दलहरुप्रति कटाक्ष गरेपछि नेकपा (एमाले)का सांसद सूर्य थापाले नियमापत्ति जनाउनुभएको   छ ।

    प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद कार्कीले एमाले र काँग्रेसका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी गरेपछि सांसद थापाले आपत्ति जनाउनुभएको हो । सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाउनु भयो ।

    उहाँले ‘संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन कस्तो पार्टी ? कस्ता सांसद धिक्कार होस्’ भन्ने टिप्पणी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘हिजो दिनभरी नौटंकी देखियो । एमाले र नेपाली काँग्रेसहरुले आफ्ना माननीयज्युहरुलाई खाली काजगमा हस्ताक्षर गरेको भन्ने खबर सुनियो । यो केका लागि त ? यो किन त भन्दा उपसभामुखलाई अविश्वसाको प्रश्तावमार्फत हटाउन रे । उहाँहरुलाई संवैधानिक परिषद्मा बहुमत पुगेन ।

    बहुमत पुर्याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति गर्नको निम्ति उपसभामुखमाथि महाअभियोग लगाउने कुराहरु त्यहाँ चल्यो । सही गराउने कस्तो पार्टी, सांसदहरु कस्ता ? धिक्कार होस् ।’

    लगत्तै सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्दहरु स्वीकार्य नहुने बताउनु भयो । उहाँले मण्डलेहरुसँग लामो समयसम्म लडेर आफूहरु आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह समेत गर्नुभयो ।