२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणीमा अपांगता सम्बन्धी अभिमुखीकरण एवं पृष्ठपोषण कार्यक्रम 

सोमवार , मंसिर १८, २०८०

भैरहवा, १८ मंसिर ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा अपांगता सम्बन्धी अभिमुखीकरण एवं पृष्ठपोषण कार्यक्रम सम्पन्न भएको छ । ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस–२०८० को अवसरमा रोहिणी गाउँपालिकाको आयोजना तथा द लेप्रोसी मिसन नेपालको समन्वयमा रोहिणी–३ स्थित धकधईमा आइतबार उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि अपांगता भएका व्यक्तिहरुको सल्लाह–सुझाव लिएर अघि बढ्ने बताए । उनले गाउँपालिकाले गरेका कामहरुबारे जान्ने नागरिकको अधिकार भएको बताए । अध्यक्ष यादवले गाउँपालिकाको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत हुन अगावै आवश्यक सल्लाह–सुझाव दिन आग्रह गरे । उनले भने, ‘गाउँपालिकाको आन्तरिक स्रोत कम छ । सीमित स्रोतसाधनका बाबजुद धेरै काम गर्ने प्रयास गरिरहेका छौं । नागरिकको लागि काम गर्ने हाम्रो जिम्मेवारी र दायित्व हो ।  ’सबैलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ । केही कमीकमजोरी भए सुझाव दिन उनले आग्रह गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले अपांगता भएका व्यक्तिहरुलाई परिवार र समाजले फरक दृष्टिकोणले हेर्न नहुने बताए । उनले भनिन्, ‘अपांगता भएका व्यक्तिहरुलाई अवसर दिनुपर्छ । उहाँहरुलाई सम्मान गर्नुपर्छ ।’

कार्यक्रममा द लेप्रोसी मिसन नेपाल अन्तर्गत फाउण्ड परियोजनाकी रोजगार परामर्शदाता राधा अधिकारी भट्टराईले गम्भिरताको आधारमा अपांगताको प्रकार, अपांगता परिचयपत्रको आधारमा प्राप्त हुने सेवासुविधा, अपांगताको बारेमा हाम्रो समाजमा रहेका सामान्य बुझाइ लगायतको विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा अपांगता भएका ४ जना व्यक्तिहरुलाई व्यवसाय सञ्चालन गरी आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतिव्यक्ति रु. ३० हजारका दरले १ लाख २० हजार बीउ पुँजी वितरण गरिएको उनले जानकारी दिइन् ।

393957867_6912348368802344_3894544298679314737_n.jpg

रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनको अध्यक्षता, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुनिता कुमारी यादवको स्वागत तथा राधा अधिकारी भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्यमाथि द लेप्रोसी मिसन नेपाल अन्तर्गत फाउण्ड परियोजनाका क्लस्टर म्यानेजर रामदयाल यादवले प्रस्तुतीकरण गरेका थिए ।