सोमवार , आश्विन १९, २०८३
केही मानिसहरू जीवनमा भेटिन्छन्, केही मानिसहरू जीवनको कुनै एउटा कालखण्डमा सम्झनामा बस्छन् । तर, केही यस्ता मानिस हुन्छन्, जसको यात्रा आफूले देख्दै, भोग्दै र सम्झँदै गर्दा उनीहरू आफ्नै यात्राको एउटा हिस्सा जस्तो लाग्न थाल्छन् । विनोद दास मेरा लागि त्यस्तै एउटा नाम हो–हाम्रो विनोद ।
नेपालमा क्रिकेटको सुरुवाती पुस्तालाई सम्झँदा विनोद दासको नाम छुटाउन सकिँदैन । हामी सायद क्रिकेटको एउटै पुस्ताका हौं । नेपालमा पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय क्रिकेटतर्फको यात्रा अर्थात् अन्डर–१९ क्रिकेटले व्यवस्थित आकार लिन थालेको समय थियो । हामी आ–आफ्नो जिल्लाबाट खेल्दै क्रिकेटमा आफ्नो परिचय बनाउने प्रयासमा थियौं । त्यही पुस्ताबाट विनोद एउटा प्रतिभाशाली खेलाडीका रूपमा अगाडि बढ्दै गए । उनलाई पहिलोपटक भैरहवामा सिद्धार्थ ट्रफी खेल्दा नजिकबाट देखेको सम्झना अझै ताजा छ । कलैयाको टीमबाट सुशील चौलागाईं दाइसँग खेल्न आएका थिए । उमेर सानै, तर खेलमा देखिएको आत्मविश्वास र परिपक्वता असाधारण थियो । उनको खेल हेर्दा मनमनै लाग्थ्यो–यो केटोमा केही विशेष छ ।
त्यसपछि भैरहवाकै एस.एस.पी. कार्यालयमा भएको जय ट्रफीको एउटा खेल झन् अविस्मरणीय बन्यो । एउटै खेलमा सात विकेट लिएर उनले विपक्षी टोलीलाई तहसनहस बनाए । दर्शकहरू मैदानमा राम्ररी भेला हुन नपाउँदै खेल सकिएको जस्तो लाग्थ्यो । त्यो दिन उनको बलिङ हेर्ने अवसर पाएका धेरैका लागि विनोद एउटा प्रतिभाशाली युवा मात्र रहेनन्, भविष्यको सम्भावना बने । पछि उनी सिनियर क्रिकेटमा प्रवेश गरे । भैरहवाका पूर्व राष्ट्रिय कप्तान राजु खड्का दाइबाट विनोदको प्रतिभाबारे पटकपटक सुन्न पाइन्थ्यो । पछि शक्ति गौचन भाइबाट पनि उनको क्षमता र सम्भावनाका कुरा सुनिरहन्थ्यौं । समयले विनोदलाई अझ माथि पुर्याउँदै गयो । राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर पाए । अन्डर–१९ राष्ट्रिय टोलीको कप्तानी पनि गरे । नेपालले अन्डर–१९ विश्वकपको यात्रा तय गर्दा उनको नेतृत्वको सम्झना नेपाली क्रिकेटको इतिहाससँग जोडिएर आउँछ । लामो समयसम्म देशको प्रतिनिधित्व गर्दै उनले मैदानमा आफ्नो क्षमता मात्र देखाएनन्, नेपाली क्रिकेटको एउटा पुस्तालाई बाटो देखाउने काम पनि गरे ।
उनीप्रतिको सम्मान र विश्वास केवल मेरो व्यक्तिगत अनुभूति थिएन । ऋषिकेश अग्रवाल दाजु, बसन्त शाही दाजु, जंगबहादुर थापा दाजु, सत्यजित सरकार दाजु, सञ्जय गुरुङ दाजु, सञ्जीव जोशी दाजु, अजय रामदाम, बसन्त रेग्मी, बासुदेव थापा, उत्तम सारु मगर, लालबहादुर अधिकारी, अमित श्रेष्ठ, अनिल सेन्चुरी, रिजन प्रजु भाइ, दिपेन लाम्गादे भाइ, विजय यादव, राजेश चौधरी भाइ, छेदीलाल कानु बनिया, मोहन थापा, सन्जु थापा, मिलन राना, ज्वालेश प्रधान, धिरज अधिकारी क्षेत्री, हरि बहादुर थापा, सुवास प्रधान, अन्तिम थापा, दुर्गा सेन, धर्मराज गिरी दाजु, समिर खान सर, शंकर राना, जगत सर, देवेश कर्ण, सुशील केसीलगायत यस क्षेत्रका धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर र प्रशिक्षकहरूबाट पनि पछिल्ला वर्षहरूमा विनोदको प्रतिभाको चर्चा सुन्न पाइन्थ्यो ।
पछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुगेका शाह आलम, बासिर अहमद लगायतका खेलाडी तथा क्रिकेटसँग जोडिएका धेरै व्यक्तिहरूबाट पनि विनोदको क्रिकेट ज्ञान, क्षमता र प्रतिभाको प्रशंसा सुन्न पाउँदा हामी आफैं गौरवान्वित हुन्थ्यौं । खेलाडीको रूपमा उनको यात्रा सकिएपछि पनि विनोद क्रिकेटबाट टाढा भएनन् ।
बरु अर्को भूमिकामा अझ फराकिलो भएर फर्किए–प्रशिक्षकका रूपमा ।
अन्डर–१९ राष्ट्रिय टोलीदेखि महिला राष्ट्रिय टोलीसम्म प्रशिक्षणको जिम्मेवारी सम्हाले । प्रशिक्षकका रूपमा आफूलाई अझै परिष्कृत गर्दै उच्चस्तरीय प्रशिक्षण र क्रिकेट शिक्षातर्फ अघि बढे। लेभल–३ प्रशिक्षक बने । त्यसपछि एसीसी र आईसीसीसँग जोडिँदै ःबकतभच भ्मगअबतयच का रूपमा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा प्रशिक्षकहरूलाई प्रशिक्षण दिने तहमा पुगे । श्रीलंकाका सनथ जयसूर्या जस्ता अन्तर्राष्ट्रिय क्रिकेटका स्थापित नामहरूसँग काम गर्ने अवसर पाए ।
विनोदको त्यो अन्तर्राष्ट्रिय यात्रा सम्झँदा मेरा आँखामा अझै केही दृश्यहरू ताजा छन् । महेन्द्र सिंह धोनी, सचिन तेन्दुलकर, ब्रायन लारा र सनथ जयसूर्या जस्ता विश्व क्रिकेटका महान् खेलाडीहरूसँग विनोदले प्रश्न गरिरहेको, कुरा गरिरहेको र क्रिकेटका विषयमा संवाद गरिरहेको दृश्यहरू मैले आफ्नै आँखाले देखेको हुँ । कुनै समय हामीसँगै जिल्लाबाट खेल्न थालेको त्यो युवा खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटका यस्ता महान् हस्तीहरूसँग क्रिकेटका विषयमा संवाद गरिरहेको देख्दा मनभित्र एउटा छुट्टै गर्व पैदा हुन्थ्यो
एक समय मैदानमा नेपाली क्रिकेटको जर्सी लगाउने खेलाडी, त्यसपछि नेपाली खेलाडीलाई मैदानमा उतार्ने प्रशिक्षक, र अन्ततः नेपाली क्रिकेटको व्यवस्थापन र विकासमा योगदान दिने क्रिकेट म्यानेजर । यो एउटा व्यक्तिको पद परिवर्तन मात्र होइन, नेपाली क्रिकेटसँगै हुर्किएको एउटा प्रतिभाको विकसित हुँदै गएको यात्रा हो ।
नेपाल क्रिकेट संघ (क्याा) मा क्रिकेट म्यानेजरका रूपमा उनले प्रशासनिक र प्राविधिक दुवै क्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गरे । क्यानका पूर्व कार्यवाहक सचिव एवं रुपन्देही क्रिकेट संघका धेरैपटकका अध्यक्ष पूर्व राष्ट्रिय खेलाडी प्रशान्त विक्रम मल्लज्यूले पनि उहाँको काम र क्षमताको चर्चा गरेको सुनेका छौं । आशा गुरुङ दाइ, प्रेम सेन्चुरी दाइ, अनुप थापा दाइलगायत नेपाली क्रिकेटका अग्रजहरूबाट पनि विनोदको प्रतिभा र योगदानका बारेमा सकारात्मक कुरा सुन्न पाइन्थ्यो । यसले एउटा कुरा प्रमाणित गर्छ– प्रतिभा देखिन्छ, तर प्रतिभालाई प्रमाणित गर्न निरन्तरता चाहिन्छ । र, विनोदले त्यो निरन्तरता देखाए।
२०३ भदौ ३१ गते रुपन्देही क्रिकेट संघले आयोजना गरेको Cricket Devlopment and Strategic Worpshop–२०३ मा मुख्य प्रशिक्षकका रूपमा उहाँसँगै बसेर प्रशिक्षण लिने अवसर पनि मिल्यो । लामो समयपछि एउटै ठाउँमा बसेर नेपाली क्रिकेटका विषयमा कुरा गर्न पाउँदा पुराना सम्झनाहरू फेरि ताजा भए । त्यहाँ पनि मैले उही विनोद देखें–शान्त, सरल, विषयप्रति गम्भीर र क्रिकेटप्रति उत्तिकै समर्पित ।
र अहिले फेरि एउटा खबर आएको छ–विनोद दास अब मलेसिया क्रिकेटलाई सेवा दिन जाँदैछन् । खबर सुन्दा पहिलो अनुभूति थियो–खुसी।
किन नहोस् ? हाम्रै पुस्ताको एउटा साथी, हाम्रै आँखाअगाडि नेपाली क्रिकेटमा हुर्किएको एउटा प्रतिभा, आफ्नो क्षमता प्रमाणित गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अझ ठूलो जिम्मेवारीका लागि अघि बढ्दैछ । नेपाली क्रिकेटको एउटा प्रतिनिधि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ज्ञान र अनुभव बाँड्न जाँदैछ ।
तर, त्यो खुसीसँगै मनको एउटा कुनामा प्रश्न पनि उठ्यो–के हामीले नेपाली क्रिकेटको एउटा हिरा आफूसँगै राख्न सकेनौं ?
के हामीले पर्याप्त प्रयास गरेका थियौं ? किन उहाँलाई बाहिर जानुपर्ने अवस्था आयो ? यी प्रश्नहरू स्वाभाविक हुन् । किनकी विनोद हाम्रो क्रिकेटका लागि केवल एउटा प्रशिक्षक वा पूर्व खेलाडी होइनन् । उनीसँग नेपाली क्रिकेटको लामो अनुभव, ज्ञान, अन्तर्राष्ट्रिय सम्पर्क र एउटा पुस्ताको स्मृति जोडिएको छ । तर सम्बन्धित उच्च पदाधिकारीहरूसँग कुरा गर्दा मैले एउटा उत्तर पाएँ, जसले मनलाई केही शान्त बनायो ।
उहाँको भनाइ थियो– "He made his choice, Good opportunity for him to grow and we all should be happy for his appointment. He will always be there for Nepal cricket."।
साँच्चै, यो दृष्टिकोणले मन छोयो ।
मानिसको जीवनमा आफ्नो क्षमता विस्तार गर्ने, नयाँ अनुभव लिने र आफूलाई अझ ठूलो अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसर आउँछ । विनोदले त्यही अवसर रोजेका हुन् भने त्यसलाई सम्मान गर्नुपर्छ । किनकी विनोद जहाँ गए पनि नेपाली क्रिकेटबाट अलग हुने होइनन् । उनले नेपाली क्रिकेटमा बिताएको समय, दिएको योगदान, बनाएका सम्बन्ध र सिकेको अनुभव कसैले मेट्न सक्दैन । उनको परिचयको एउटा ठूलो हिस्सा सधै नेपाल क्रिकेटसँग जोडिइरहनेछ ।
सायद एउटा देशले आफ्ना प्रतिभालाई सधैँ एउटै ठाउँमा बाँधेर राख्न सक्दैन । कहिलेकाहीं प्रतिभाहरू सीमाना पार गरेर जान्छन्, नयाँ ठाउँमा उज्यालो छर्छन् र फेरि आफ्नो अनुभव लिएर फर्किन्छन् । त्यसैले आज मनमा एउटा सानो पीडा भए पनि त्योभन्दा ठूलो गर्व छ । हाम्रो विनोद अब अर्को देशको क्रिकेटमा ज्ञान बाँड्न जाँदैछन् । मलेसिया क्रिकेटका लागि यो एउटा अवसर हो । र, नेपाली क्रिकेटका लागि पनि यो गर्वको विषय हो कि नेपाली क्रिकेटमा हुर्किएको एउटा प्रतिभा अन्तर्राष्ट्रिय रूपमा यति विश्वासयोग्य बनेको छ।
विनोद,
तिमीलाई हामीले खेलाडीका रूपमा देख्यौं ।
कप्तानका रूपमा देख्यौं ।
प्रशिक्षकका रूपमा देख्यौं ।
शिक्षकका रूपमा देख्यौं ।
प्रशासकका रूपमा देख्यौं ।
अब तिमीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा अझ फराकिलो भूमिकामा देख्नेछौं ।
जहाँ जाऊ, आफ्नो सरलता नछोड्नु ।
जति माथि पुग्छौ, आफ्नो जरा नबिर्सनु ।
नयाँ खेलाडीहरूमा त्यही आत्मविश्वास जगाइदिनु, जुन आत्मविश्वास हामीले तिमीमा सानै उमेरमा देखेका थियौं ।
तिम्रो नाम ’विनोद’ हो ।
नामको अर्थझैं जहाँ जाऊ, त्यहाँ खुसी, उर्जा र सकारात्मकता बाँडिरहनू । क्रिकेटलाई सिकाइरहनू, खेलाडी बनाइरहनू र आफूलाई पनि निरन्तर नयाँ बनाइरहनू ।
तिमी मलेसिया जाँदैछौ,
तर, हाम्रो स्मृतिबाट कतै जाँदैछैनौ ,
भैरहवाको त्यो सिद्धार्थ ट्रफी,
कलैयाको त्यो टीम,
सुशील चौलागाईं दाइसँगको त्यो खेल,
एस.एस.पी. कार्यालयको मैदानमा सात विकेट,
राष्ट्रिय टोलीको जर्सी,
अन्डर–१९ को कप्तानी,
विश्वकपको यात्रा,
प्रशिक्षकको भूमिका,
आईसीसी–एसीसीको अन्तर्राष्ट्रिय जिम्मेवारी,
र नेपाली क्रिकेट व्यवस्थापनमा बिताएका वर्षहरू—
यी सबै तिम्रो मात्र होइनन्, हाम्रो क्रिकेटको साझा सम्झना हुन् ।
तिमीले जहाँ रहेर काम गरे पनि नेपाली क्रिकेटको एउटा अध्याय तिमीभित्र सधैँ जीवित रहनेछ।
हाम्रो विनोद,
तिमीलाई नयाँ यात्राका लागि हार्दिक बधाई ।
मलेसियाको नयाँ जिम्मेवारी सफल रहोस् ।
तिम्रो ज्ञान अझ फैलियोस् ।
तिम्रो उचाइ अझ बढोस् ।
र तिमीले आफूलाई, आफ्नो देशलाई र नेपाली क्रिकेटलाई सधैं गर्व गराइरहनु ।
जहाँ जाऊ–विनोद नै भएर जाऊ ।
र फर्किंदा अझ ठूलो अनुभव, अझ ठूलो ज्ञान र अझ ठूलो मुस्कान लिएर फर्क र
यही छ–हाम्रो विनोदका लागि मेरो मनैदेखिको शुभकामना, शुभेच्छा र गर्व ।
(लेखक रुपन्देही क्रिकेट संघको सचिव हुनुहुन्छ)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij