सोमवार , आश्विन १९, २०८३
भैरहवा,१९ असोज । भारतको जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, कालिकानगर निवासी २७ वर्षीय सुदीप न्यौपानेको सम्झनामा भैरहवामा बटुकहरूलाई भोजन ग्रहण (भण्डारा) गराइएको छ ।
सिद्धार्थनगर नगरपालिका–३ स्थित संस्कृत विद्या संन्यास आश्रममा सोमबार आयोजित कार्यक्रममा स्वर्गीय न्यौपानेको सम्झनामा बटुकहरूलाई भोजन गराइएको हो । कार्यक्रममा सहभागी वक्ताहरूले पहलगाम घटनामा ज्यान गुमाएका सुदीपलाई धार्मिक शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
सुदीपकी आमा रिमकला पाण्डे न्यौपानेले धार्मिक यात्राका क्रममा वैष्णोदेवी मन्दिर र शिव मन्दिरको दर्शन गरेपछि जम्मु–कश्मिरको पहलगाम पुगेको बताउनुभयो । रमणीय स्थानमा घुमघाम गरेर फर्कने क्रममा आतंकवादीले गोली चलाएको उहाँले सुनाउनुभयो ।
रिमकलाका अनुसार घटनाका क्रममा सुदीपले आफू हिन्दू र नेपाली भएको बताउँदै आफ्नो धर्म तथा देशप्रतिको माया व्यक्त गर्नुभएको थियो । ‘मेरो अगाडि नै छोरालाई गोली हानियो । १० मिनेटको घटनाले मैले छोरा गुमाएँ,’उहाँले भावुक हुँदै भन्नुभयो ।
छोराको मृत्यु भएको एक वर्षभन्दा बढी भइसकेको र न्यायको खोजीमा आफू निरन्तर लागिरहेको बताउँदै उहाँले सुदीपलाई ‘धार्मिक पुत्र शहीद’ घोषणा गर्न सरकारसँग माग गर्नुभयो ।
समाजसेवी कृष्ण प्रसाद भण्डारीले धार्मिक भ्रमणका क्रममा सुदीपले ज्यान गुमाएको उल्लेख गर्दै भारत सरकारले ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेर आतंकवादीविरुद्ध कारवाही गरेको बताउनुभयो । उहाँले धर्मको रक्षा र अस्तित्वका लागि ज्यान गुमाएका सुदीपलाई नेपाल सरकारले धार्मिक शहीद घोषणा गर्नुपर्ने माग गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले सुदीपको विषयमा धार्मिक संस्थाहरूले समेत गम्भीरतापूर्वक पहल गर्नुपर्ने बताउनुभयो । ‘कुरा मात्र गरेर हुँदैन, काम गर्नुपर्छ, ’उहाँले भन्नुभयो–‘सुदीपलाई धार्मिक अभियन्ताका रूपमा स्थापित गर्न पनि पहल आवश्यक छ ।’
संस्कृत विद्या संन्यास आश्रम भैरहवाका महासचिव सुरेन्द्र बस्यालले घटना अत्यन्त दुःखद भएको बताउँदै यसले परिवार मात्र नभइ सम्पूर्ण नेपालीलाई पीडा दिएको बताउनुभयो । बटुकहरूलाई अन्नदान गरिएकोमा परिवारप्रति धन्यवाद व्यक्त गर्दै उहाँले सुदीपको परिवारले उठाएको न्यायको माग जायज रहेको बताउनुभयो । उहाँले यसका लागि आफ्नोतर्फबाट पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सामाजिक अभियन्ता गंगादेवी न्यौपानेले धार्मिक अतिवादका कारण निर्दोष मानिसले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले स्वर्गीय सुदीपलाई धार्मिक पुत्र शहीद घोषणा गर्नुपर्ने माग गर्दै यस्तो घटना फेरि दोहोरिन नहुने बताउनुभयो ।
त्यस्तै, सुधिर अर्यालले स्वर्गीय सुदीप न्यौपानेलाई आमाका वीर सपूतका रूपमा स्मरण गर्दै सम्पूर्ण नेपाली राष्ट्रले परिवारको पक्षमा उभिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागीहरूले सुदीपको सम्झनालाई जीवन्त राख्दै उहाँको परिवारले उठाएको न्यायको माग सम्बोधनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
२०८२ वैशाख ९ गते भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा परी सुदीप न्यौपानेको निधन भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij