
शनिवार , आश्विन २७, २०८०
भैरहवा, २७ असोज ।
भैरहवामा आयोजित लिडरसिप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) कार्यक्रमले ९० श्रृंखला (सप्ताह) पूरा गरेको छ І ९० औं श्रृंखलाका प्रमुख अतिथि कोशिष बहादुर खड्काले तालिमका सहभागीहरुलाई आफ्नो खेल जीवनका उत्प्रेरक अनुभव सुनाएका थिए І उनले सन् १९९९ मा आठौं दक्षिण एशियाली खेलमा देशको लागि स्वर्ण पदक जितेका थिए І खड्काले भर्खरै चीनमा सम्पन्न एशियाली खेलकुदबारे अनुभव पनि साटे । उनले भने, ‘समयको सही पालना गर्न सक्नु नै सफलताको कारण रहेछ І कुनै पनि कार्य समय भन्दा न अगाडी न पछाडी तोकिएको समयमा गर्नुपर्दो रहेछ ।’
आयोजकले खड्कालाई खेलाडीको रुपमा आमन्त्रण गरेर खेलबारे आफ्नो नेतृतको अनुभव सुनाउने अवसर प्रदान गरेको भन्दै उनले आयोजकलाई धन्यवाद दिए І खड्का तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री साथै सामाजिक अगुवा पनि हुन् । उनी नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति समेत हुन् ।
कार्यक्रमका अध्यक्ष व्यवसायी अर्जुन पाठकले तालिमको माध्यमबाट नगरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिभासँग साक्षात्कार हुने मौका मिलेको छ भन्दै उपस्थितिलाई धन्यवाद ज्ञापन गरे І
कार्यक्रम संयोजक विद्यार्थी प्रशान्त ज्ञवालीको स्वागत तथा खाद्यान्न व्यवसायी जितप्रसाद कर्माचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कोशिश खड्काको परिचय बाल विद्यार्थी बिधान विजय पाण्डेले गराएका थिए І
भैरहवास्थित एसियन बुद्ध होटलमा भएको तालिम कार्यक्रममा विभिन्न पेशाका ४० भन्दा बढी सहभागीहरु थिए І प्रशिक्षार्थीहरु सिर्जना खनाल, दीपक जयसवाल, हिरा सुबा, सरस्वती केसी, विशाल पाण्डेले आफनो जीवनकथा पनि प्रस्तुत गरेका थिए І प्रस्तुतिमाथि व्यवसायी श्याम घिमिरेले टिप्पणी गरेका थिए І
लिडरशिप स्किल्स डेभलपमेन्ट तालिममा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन तर इच्छुकले योगदान गर्दै आएको व्यवस्थापन समितिका सदस्य विरेन्द्र ज्ञवालीले बताए І
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीमा सञ्चालन हुदै आएको तालिम अहिले भैरहवास्थित एसियन बुद्ध होटलमा विभिन्न पेशाका व्यक्तिहरुबीच सञ्चालन हुँदै आएको छ І तालिमको संस्थापक तथा प्रस्तोता उत्प्रेरक वक्ता विजय पाण्डे भएको तालिम व्यवस्थापन समिति सदस्य त्रिलोकी तेलीले जानकारी दिए । पाण्डे सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान महासचिव हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij