२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

बुद्ध सामुदायिक सेवा समाजको आयोजनामा रक्तदान

शनिवार , आश्विन २७, २०८०

भैरहवा, २७ असोज ।
बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११ रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री रामजानकी हनुमान मन्दिर प्रांगणमा भएको कार्यक्रममा २० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष धिरज मल्लिकले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले समुदाय र प्रहरी एकदमै महत्वपूर्ण कुरा भएको बताए । उनले समाज विकास गर्न र समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई जिम्मेवारी तोकिएको बताए । उनले भने, ‘प्रहरीको एक्लो प्रयासबाट मात्र शान्ति सुरक्षा र समाजको विकास सम्भव छैन । सबै मिलेर शान्त समाज बनाउनुपर्छ ।’ डीएसपी भट्टले रक्तदान स्वास्थ्यको लागि पनि महत्वपूर्ण रहेकोमा जोड दिए ।
सशस्त्र प्रहरी उपरीक्षक दुर्गा बहादुर थापाले सामूदायिक प्रहरी सेवा केन्द्रको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख सल्लाहकार तथा नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले दशैं तिहार जस्ता चाडपर्वमा ब्लड बैंकमा रगतको अभाव हुने गरेको बताए । उनले रक्तदान जस्तो पुण्य काममा सहयोग गर्न आग्रह गरे । 

सेवा केन्द्रका कानूनी सल्लाहकार अधिवक्ता दिलिप कुमार मल्लिकले वार्षिक क्यालेण्डर अनुसार संस्थाले रक्तदान कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘रगत दिने व्यक्ति कहिल्यै सानो हुँदैन ।’

IMG_1493.JPG

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले आफूले हालसम्म २७ पटक रक्तदान गरिसकेको बताए । उनले जनताको सेवा गर्न आएकाले सामूदायिक सेवा केन्द्रलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष तथा श्री रामजानकी हनुमान मन्दिरका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले रक्तदानले नयाँ जीवन दिने भएकाले यो पुनित कार्य भएको बताए ।

सेवा केन्द्रका सल्लाहकार कुल प्रसाद न्यौपानेले स्वस्थ व्यक्तिले तीन–तीन महिनामा रक्तदान गर्न सक्ने बताए । उनले अझै पनि ग्रामीण क्षेत्रमा रगत दिन डराउने प्रवृत्ति रहेको बताए ।

बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्रीचन्द जयसवालको अध्यक्षता, उपाध्यक्ष शुभद्रा पौडेलको स्वागत तथा सचिव केदार प्रसाद कुर्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको सभापतिमा निर्वाचित संस्थाका प्रमुख सल्लाहकार दीपक क्षेत्री न्यौपाने, नेपाल सि.एम.ए. संघ रुपन्देहीको उपाध्यक्षमा निर्वाचित संस्थाका कार्यसमिति सदस्य राजेश चौधरी र उद्योग व्यापार संगठन, रुपन्देहीको कार्यसमिति सदस्यमा निर्वाचित संस्थाका कोषाध्यक्ष धिरज मल्लिकलाई सम्मान गरिएको थियो ।