
शनिवार , आश्विन २७, २०८०
भैरहवा, २७ असोज ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व लक्षित सुरक्षा योजना २०८० सार्वजनिक गरेको छ । दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरी शुक्रबार भैरहवामा पत्रकार सम्मेलनमार्फत रुपन्देही प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार यो सुरक्षा योजना असोज २१ गते घटस्थापनादेखि छठ पर्वसम्म लागू हुनेछ ।
चाडपर्वको समयमा अपराधिक क्रियाकलापहरु चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झैझगडा हुनसक्ने भन्दै यस्तालाई निस्तेज पार्न सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले बताए । जसअन्तर्गत जिल्लामा १ हजार २९ जना प्रहरी परिचालन गरिने योजना एसपी वि.क.ले बताए । योजना अन्तर्गत प्रहरी उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरी परिचालन गरिने प्रहरीले जनाएको छ । त्यस्तै ४३ वटा पिकेट, २४ सै घण्टा १८ वटा पैदल गस्ती, मोटरसाइकल गस्ती ५० वटा, गाडी मोबाइल, क्यूआरटी परिचालन.चेकिङ १७ वटा, क्रस पेट्रोलिङ, १ वटा आरएससीसी चेकिङ, विशेष चेकिङ लामो दुरीको ११ वटा परिचालन गरिने एसपी वि.क.ले जानकारी दिए ।
त्यस्तै रिजर्व/स्टाईकिङ ४० जना, नियमित ट्राफिकसहितको संयुक्त चेकिङ १९ स्थानमा, सीमा नाकामा चोरी तस्करी नियन्त्रण अन्तर्गत २४ स्थानमा परिचालन गर्ने, कर्डन एण्ड सर्च/एम्बुस १७ स्थानमा परिचालन गरिने रुपन्देही प्रहरीले जनाएको छ ।
त्यस्तै बेलहिया, बसपार्क भैरहवा, बुटवल, लुम्बिनी र कालीदह नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
त्यसै गरी जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमनमा प्रहरी परिचालन गर्ने प्रहरीले जनाएको छ । आवश्यकता अनुसार थप पिकेट, चेकिङ, मोबाइल लगायतका अन्य डिउटीहरु परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । ‘समग्र जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाइ राख्न चाडपर्वको सुरक्षार्थको लागि विभिन्न रणनीति अपनाई जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको छ, ’डीएसपी भट्टले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij