२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

भैरहवामा मनाइयो विश्व दृष्टि दिवस

शुक्रवार , आश्विन २६, २०८०

भैरहवा, २६ असोज ।
नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखा र लुम्बिनी आई इन्ष्टिच्युट एण्ड रिसर्च सेन्टर सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा विश्व दृष्टि दिवस–२०२३ मनाइएको छ । 

विश्वव्यापी रुपमा अन्धोपन निवारण र आँखा उपचारसम्बन्धि सचेतना जगाउने उद्देश्यले सन् २००० देखि अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइने गरिएको छ । 

विश्वमा १६ करोड मानिस कार्यक्षेत्रमा हुने दुर्घटना वा असावधानीका कारण दृष्टिदोषसम्बन्धि समस्या वा अन्धोपनबाट गुज्रिने गरेको पाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण आँखा उपचार सेवा नियमित लिन नमिलेका कारण नेपालमा मात्रै ५० हजार आँखा रोगी अन्धोपन हुने खतरा रहेको छ ।

बिहीबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष, लुम्बिनी प्रदेश अध्यक्ष तथा रण अम्बिका आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले नियमित उपचारमा मात्र ध्यान दिंदा कोरोनाका कारण उपचार लिनबाट वञ्चित ५० हजार बिरामीलाई समेट्न कठिन भएको बताए । अध्यक्ष राणाले आँखा कमजोर भएर लगाइने चश्मामा सरकारले भ्याट लगाएर अन्याय गरेको गुनासो गरे ।

‘मुटुमा लगाइने पेशमेकर जस्तै दृष्टि देखाउने उपकरण हो चश्मा, राणाले भने, शोखले लगाउनेलाई होइन कम्तिमा आँखाको ज्योति कमजोर भएर लगाइने चश्मामा त भ्याट छुट हुनुपर्छ । ’ आफूहरुले प्रधानमन्त्रीलाई समेत भेटेर गुनासो गरेको तर सरकारले त्यसतर्फ ध्यान दिन नसकेको उनले गुनासो गरे । अस्पताललाई सरकारको अझैसम्म सहयोग प्राप्त हुन नसकेको उनको भनाइ छ । अस्पताललाई स्थानीय सरकारको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । 

देशभर २७ वटा आँखा अस्पताल र १ सय ५० वटा आँखा उपचार केन्द्र रहेको उल्लेख गर्दै अध्यक्ष राणाले लुम्बिनी प्रदेशमा मात्रै ८ वटा अस्पताल रहेको जानकारी दिए । उनले विदेशी बिरामीलाई आँखा उपचार सेवा दिएर आँखा अस्पतालहरुले ‘हेल्थ टुरिजम’को रुपमा काम गरेको भन्दै त्यसलाई राज्यले बुझ्न नसकेको बताए । अध्यक्ष राणाले निजी क्षेत्र र स्थानीय सरकारलाई आँखा उपचारको क्षेत्रमा हातेमालो गर्न आग्रह गरे ।

लुम्बिनी आई इन्ष्टिच्युटका व्यवस्थापक प्रकाश रायमाझीले ४० वर्षअघि वार्षिक ३ हजार बिरामी र १ सय ९२ जनाको शल्यक्रिया गर्ने यस आँखा अस्पतालले यस अवधिमा सेवा र क्षमता वितार गरी हाल वार्षिक ३ लाख २८ हजार बिरामीको आँखा उपचार तथा ३९ हजार ८ सय ५५ जनाको शल्यक्रिया गर्न सफल भएको जानकारी दिए । उनले अस्पतालमा ६० प्रतिशत बिरामी विदेशी नागरिक रहेको पनि जानकारी दिए ।

अस्पतालका निमित्त चीफ मेडिकल डाइरेक्टर डा.सुशिला पटेलले आँखा शरीरको सबैभन्दा संवेदनशील अंग भएको बताइन् । उनले आँखाका बिरामी कतिपय अवस्थामा ढिला आउँदा उपचारमा समस्या हुने गरेको बताइन् । उनले मर्निङ्गवाक, जीम, जुम्बा जस्ता क्रियाकलापमार्फत शरीरका अरु अंगहरुलाई प्राथमिकता दिए पनि आँखाको लागि वास्ता नगर्ने प्रवृत्ति रहेको बताइन् । उनले बच्चालाई भुलाउन, खुवाउन र खेलाउन समेत स्मार्ट फोनमा गित, भिडियो देखाइने प्रवृत्तिले आँखासम्बन्धि समस्यामा चुनौति थपिदै जाने उल्लेख गरिन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले म आफ्नो आँखा बचाउँछु भन्ने प्रतिवद्धता जनाउन आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘आहार, विहार र व्यवहारमा ध्यान दिनुपर्छ । सामाजिक सञ्जालको लतले आँखाको समस्या आउने गरेको छ ।’ आँखा अन्य अंग भन्दा विशेष रहेको उनको भनाइ छ । उनले राज्यले गर्नुपर्ने काम रण अम्बिका शाह आँखा अस्पतालले गरेको बताए ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पनि आँखाको स्वस्थताको लागि मोबाइल फोन चुनौतिपूर्ण बनिरहेको बताइन् । उनले सिद्धार्थनगर नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताइन् ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले आँखासम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सेवा फाउण्डेशन अमेरिकाकी रिजा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेत्र ज्योति संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष नारायण प्रसाद अग्रवाल, सचिव गणेश बहादुर क्षेत्रीलगायतले लुम्बिनी आइ इन्ष्टिच्युटले निर्वाह गरेको भूमिकाबारे चर्चा गरेका थिए ।

IMG_1179.JPG

कार्यक्रममा श्रष्टाहरु तिलक लामिछाने, तेज प्रसाद पन्थ, सीता काफ्ले, लक्ष्मी प्रसाद अधिकारी, सरु ज्ञवाली र कमल पोखरेल आँखासम्बन्धी जनचेतनामूलक गीत/कविता वाचन गरेका थिए ।

 ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यस वर्ष विश्व दृष्टि दिवस मनाइएको छ ।