
आइतवार , आश्विन ५, २०८२
काठमाडौं, ५ असोज । अर्बौं बाँकी विद्युत वक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ ।
कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत वक्यौता उठाउनेसम्बन्धि पहिलो निर्णय गर्नुभएको थियो । सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनु भयो ।
उहाँकाअनुसार सोमवार/मंगलवार नै बैठक बसेर बिजुली वक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । सोहीअनुसार कार्यान्वयनमा लगिनेछ । शाक्यले सरकारको निर्णय मानेरै वक्यौता उठाउन लाग्ने समेत बताउनुभएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भन्नुभयो–‘वक्यौतासम्बन्धि जुन मन्त्रीज्युको निर्णय छ । यसलाई हामीले कार्यानवयन गर्छौं । विद्युत प्राधिकरणको मन्त्रिज्यु नै अध्यक्ष हुने व्यवस्था छ ।
बोर्डले निर्णय गर्नासाथ वक्यौता उठाउन लाग्छौं । वक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं । बोर्डमा मन्त्रीज्यु नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोली अथवा पर्सीमै बोर्ड बैठक बस्छ ।’
बोर्ड बैठकबाट निर्णय भएपछि वक्यौता उठाउन कुनै समस्या नभएको समेत बताउनु भयो । कुलनमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत वक्यौता उठाउन भनेर वक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आउनुभएको थियो ।
तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला पनि बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिनुभएको थियो ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ । प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ ।
उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत प्रयोग दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij