२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

बेलहियामा यात्रु सहायता कक्ष स्थापना

बिहिवार , आश्विन २५, २०८०

भैरहवा, २५ असोज ।
विजया दशमी, शुभ दीपावली र छठ पर्वलाई लक्षित गरेर रुपन्देहीको बेलहिया नाकामा नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा सम्पूर्ण यात्रुहरुको सहयोगका लागि सहायता कक्ष स्थापना गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

पर्यटकसहित नेपालीलाई हुने अनावश्यक हैरानी÷झण्झट तथा लुटिनुपर्ने बाध्यात्मक परिस्थितिबाट मुक्त गर्ने उद्देश्यले सहायकता कक्ष स्थापना गरिएको प्रजिअ अर्यालले बताए । ‘हरेक वर्ष सडक दुर्घटना चाडपर्वको मुखमा बढी हुने गरेका छन्, नेपालमा मृत्युको चौथो कारण सडक दुर्घटना रहेको छ । लाखौं मान्छेको भविष्य चालकको हातमा हुन्छ, ’उनले भने । 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सीमा क्षेत्रमा हुने गलत क्रियाकलापलाई रोक्न नागरिक÷यात्रु सहायता कक्षले सहयोग गर्ने बताए । उनले भने, ‘सहायता कक्ष स्थापना भएपछि अब स्वास्थ्य परीक्षणका साथै झोला तानातान गर्ने प्रवृत्ति हुँदैन । ’ चालक र सह–चालकलाई उच्च सम्मान गर्दै उनीहरुलाई आफ्नो दायित्व र जिम्मेवारीको बोध गराउनुपर्ने उनको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले चाडपर्वको बेला बाह्य र आन्तरिक यात्रुको आवागमन सुरक्षित गर्ने/गराउने, सीमा क्षेत्र र आन्तरिक यात्रामा हुने सक्ने अवाञ्चित गतिविधिको नियन्त्रण गर्ने÷गराउने, यात्रुहरुलाई गन्तव्यमा सुरक्षित रुपमा पुर्याउने जिम्मा लिनुभएका चालक र सह–चालकको पेशाप्रतिको सम्मानको भावना जागृत गर्ने÷गराउने, नागरिकको सुरक्षित यात्रा सुरक्षित गर्न जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी समिति र सरोकारवालाहरुको जिम्मेवारी बोध गर्ने/गराउने नागरिक/यात्रु सहायता कक्ष स्थापना कार्यक्रमको उद्देश्य रहेको बताए ।
त्यस्तै चाडपर्वको सुरक्षार्थ लिइएका नीति, रणनीति, अरु बेला पनि कार्यान्यवन गर्ने/गराउने, रुपन्देहीको एकीकृत सहायता कक्षको नाम, काम र साखलाई अरु जिल्लामा पनि अनुकरण र अनुसरण गर्न लालायित बनाउने र सरोकारवालाहरुको समन्वय मजबुत बनाउने पनि कार्यक्रमको उद्देश्य रहेको अर्यालले बताए ।

बिहीबार यात्रु सहायता कक्ष स्थापना गर्दा चालकहरुलाई माला लगाइदिएर उद्घाटन गरियो । उनीहरुलाई सवारी चलाउँदा सावधानी अपनाउन र यात्रुलाई सम्मानपूर्वक व्यवहार गर्न समेत भनियो । सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खान, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विक लगायतले चालकलाई माला लगाइदिएर यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन् ।

Health desk 3.jpg

जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतको पहलमा सहायता कक्ष स्थापना गरिएको हो ।
सहायता कक्षमा चालक र सह–चालकको दैनिक रुपमा र यात्रु, पर्यटक सर्वसाधारणको आवश्यकताका आधारमा स्वास्थ्य परीक्षण गरिनेछ । चालक र सह–चालकको आँखाको भिजन, ज्वरो, रक्तचाप, मापसे र लापसे (लापरवाही गरे–नगरेको) परीक्षण हुनेछ । आश्यकताका आधारमा औषधि, माक्स, स्यानिटाइजर उपलब्ध गराइनेछ । बिरामी भेटिए अस्पताल पठाइनेछ । यससँगै ट्राफिक नियमबारे सचेत बनाइनेछ भने विभिन्न गन्तव्यसम्मको भाडादरबारे जानकारी गराइनेछ ।

HEALTH DESK 2.jpg

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह बिष्टले यात्रु सहायता कक्षले चालकलाई पनि होसियारी अपनाउन सजग गराउने बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले सहायता कक्षमा वडा नम्बर १ को कार्यालयबाट २ जना स्वास्थ्य स्वयंसेविका खटाइएको बताए ।