
बिहिवार , आश्विन २५, २०८०
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै गर्न सकिने भएको छ ।
बिहीबार ललितपुरको एकान्तकुनामा सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विधुतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले शुभारम्भ गरे ।
विधुतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनतालाई सहज रुपमा सेवा दिनका लागि सेवा शुभारम्भ सुरु गरिएको बताए । उनले सहयोगका नाममा सेवाग्रहीहरुलाई दुख दिने काम गरेको भन्दै कर्मचारीहरुले नै यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे । कर्मचारीहरुले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन विचौलियाहरु कम हुँदै जाने उनको भनाइ छ । त्यस्तै मन्त्री ज्वालाले आगामी ६ महिनामा सवारी चालक अनुमतिपत्र बितरणको काम सहज हुने बताए । छिटै १२ लाख स्मार्ट लाइसेन्स आउने र त्यसपछि स्मार्ट लाइसेन्सको अभाव हट्ने दावी गरे ।
त्यस्तै बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लम्सालले बर्षमा औसत ६ लाख यातायात कार्यालयमा आउने गरेको भन्दै उनीहरुलाई सहज रुपमा सेवा दिन कर्मचारीहरु तत्पर हुनुपर्ने बताए । यातायात कार्यालयप्रति जनमानसको सोचाईलाई परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ ।
उनले यातायात सम्बन्धी सम्पूर्ण सेवाहरुलाई सहज रुपमा बढाउनका लागि आवश्यक तयारी भइसकेको बताए। सरकारले उपत्यकापछि देशैरभर यातायात कार्यालयलाई अनलाइन मैत्री बनाउने तयारी गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij