
बुधवार , आश्विन २४, २०८०
भैरहवा, २४ असोज ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पक्लिहवा क्याम्पस कमिटीले इजरायलबाट नेपाली विद्यार्थीहरुलाई यथाशिघ्र स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुले यस्तो माग गरेको अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष सरोज ठकुरीले बताए ।
‘नेपालका विभिन्न कृषि विश्वविद्यालय र संस्थानहरुबाट स्नातक तह अध्ययन गरिरहेका तथा स्नातक सक्काएर ‘इन्टन्सिप’ को निम्ति ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल जानुभएका नेपाली १० जना विद्यार्थीहरु त्यहाँको वर्तमान प्यालेस्टाइनी विद्रोहीहरुको आक्रमणले ज्यान गुमाउनुपरेको छ र अन्य थुप्रै विद्यार्थीहरु घाइते हुनुभएको छ । यो भयावह अवस्था प्रति अनेरास्ववियु पक्लिहवाको गम्भीर ध्यानाकर्षण भएको छ र हामीलाइ अत्यन्तै पीडाबोध भएको छ, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यो विषम अवस्थामा सरकारलाई दबाब दिनको लागि अनेरास्ववियु पक्लिहवा क्याम्पस कमिटीले आज प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको कमिटीका अध्यक्ष मदन कंडेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij