२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

मिथ्या र भ्रामक सूचना नियन्त्रणका लागि सचेत हुनुपर्नेमा जोड

बुधवार , आश्विन २४, २०८०

भैरहवा, २४ असोज ।
मिथ्या र भ्रामक सूचना एवं समाचारबाट बच्न व्यक्ति आफै सचेत हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । भैरहवामा आयोजना गरिएको मिथ्या र भ्रामक सूचना नियन्त्रणका लागि सञ्चार साक्षरता कार्यशालामा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

पाल्पा विकास केन्द्र, तानसेनको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहकार्यमा भएको कार्यक्रमका प्रशिक्षक वरिष्ठ पत्रकार मोहन मैनालीले गलत सूचनाका कारण कतिपय मिडियाहरुमा गलत समाचार सम्प्रेषण हुँदा पाठकले सोही कुरालाई नै विश्वास गर्ने खालको वातावरण बन्ने बताए । उनले गलत सूचना सबैभन्दा छिटो प्रचार हुने हुँदा यसले राष्ट्रिय हित, व्यक्तिको जीवन, सामाजिक क्षेत्र, लगायत विभिन्न क्षेत्रमा नकारात्मक असर गर्ने बताए । ‘कुनै पनि सूचना प्राप्त हुँदैमा सही नै हुन्छ भन्ने छैन, त्यसको फ्याक्ट चेक गर्नु आवश्यक छ, ’उनले भने । सबैभन्दा पहिला प्राप्त सूचना सही छ या गलत छ भन्ने विषयमा आफै विवेक पुर्याउनुपर्ने उनले बताए ।

पछिल्लो समय सामाजिक सञ्जालसँगै विभिन्न मिडियाहरु पनि यस किसिमका गलत सूचनाबाट अछुतो हुन नसकेको प्रशिक्षक मैनालीले बताए । गलत समाचारका कारण कसैको ज्यानै जाने किसिमका घटनाहरु हुन सक्ने, कसैलाई अन्याय हुन सक्ने, देशकै गौरवको विषयमा प्रश्नचिन्ह आउन सक्ने खालका विषयमा सञ्चारमाध्यमले ख्याल गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चारमाध्यम सूचनाको प्रमुख स्रोत भएकोले विशेष गरी पत्रकार र सञ्चार माध्यमहरुले गलत सूचना एवं सम्प्रेषण रोक्नका लागि तदारुक हुनुपर्नेमा जोड दिए । पछिल्लो समय सामाजिक सञ्जालमा आउने विभिन्न किसिमका अपुष्ट सूचनाहरु र मित्थ्या सूचनाहरुका कारण समाजमा गलत कार्यहरुको प्रवद्र्धन भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सही सूचना नहुँदा समाज नै दिग्भ्रमित हुने भएकाले सञ्चारकर्मीहरु अझ बढी सतर्क हुनुपर्नेमा जोड दिए ।

सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले सबै नागरिकले सत्य तथ्य चेक गर्न नसक्ने भएकाले सूचनाबाहक बढी जिम्मेबार हुनुपर्ने औल्याए । साहित्यकार विजय गोविन्द श्रेष्ठले गलत सूचना दिनेमाथि कारवाही हुनुपर्ने उल्लेख गरे । 

महिला अधिकारकर्मी ज्ञानु पौड्यालले महिलाको हकमा अझ बढी फेक समाचारको समस्या रहेको उल्लेख गरिन् । 

वरिष्ठ पत्रकार दिलिप भट्टराईले गलत सूचनाले साम्प्रदायिकता र नरसंहार हुन सक्ने खतरा रहेको बताए । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले लेख्ने समाचार गलत नै भए पनि समाजले पत्याउने भएकाले सत्यतथ्य समाचार लेख्न संवेदनशील हुनुपर्ने र छिटो समाचार दिने नाममा झुठा विवरण दिने समाचार संस्था वा सामाजिक संजालमाथि नियन्त्रणको खाँचो औल्याए ।

पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षता, लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माको स्वागत तथा क्लबका सचिव एवं प्रवक्ता प्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।