
आइतवार , आश्विन २१, २०८०
भैरहवा, २१ असोज ।
साहू तेली कल्याण सेवा समिति, रुपन्देहीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साह र लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.) लाई स्वागत तथा सम्मान गरेको छ । शनिबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी समितिले मन्त्री शाह र गुप्तालाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै मन्त्री साहले समाजबाट सम्मानित हुन पाउँदा आफ्नै आमाबुवा तथा परिवारले सम्मान गरेको अनुभुति भएको बताइन् । स्वागत तथा सम्मान कार्यक्रम आफ्नै पारिवारिक भेटघाट कार्यक्रम जस्तै लागेको उनले बताइन् । मन्त्री साहले महात्मा गान्धीको उदाहरण दिदै साहू तेली समाजले हतियार भन्दा कलमले क्रान्ति ल्याउने सोच राख्ने गरेको बताइन् । उनले भनिन् ‘हामीले पनि राजनीतिमा चासो राख्नुपर्छ ।’
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले साहू तेली कल्याण समितिले आफ्ना समाजका युवाहरुलाई शिक्षा साथै राजनीतिमा पनि सफल हुन सबैले सहयोग गर्न आग्रह गरे । उनले भने ‘समाजको सहयोग रह्यो भने अबको युवाहरुले समाजमा रहेका विकृतिहरु हटाइ असल समाजको निर्माण साथै हरेक ठाउँमा नेतृत्व गर्न सक्नेछ ।’ साहू तेली समाजका स्वजतीयहरुले पुरानो सोचलाई परिवर्तन गरी समाजको आवश्यकताअनुसार नयाँ सोच राखी समाजको लागि काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै साहु तेली कल्याण समितिका केन्द्रीय सल्लाहकार राजेन्द्र गुप्ताले समाजिक तथा धार्मिक कार्यमा समाजका सदस्य तथा स्वजतीयहरुको भूमिका अग्र स्थानमा रहेको बताए । समितिको रुपन्देही शाखाले थालनी गरेको साहु तेली कल्याण धर्मशाला निर्माणाधीन अवस्थामा रहेकोले सबैलाई सहयोग गर्न उनले आग्रह गरे ।
साहू तेली कल्याण समाजका लुम्बिनी प्रदेश संयोजक अजय कुमार गुप्ताले साहू तेली समाजबाट एक असल नेतृको रुपमा देशको एक उच्च ओहदामा पुग्ने समाजको लागि गौरव रहेको बताए । नेपालको राजनीतिमा भएको धेरै उतारचढावको समाना गर्दै हाम्रो समाजबाट एक महिला मन्त्री हुनुमा समाजको लागि ठुलो उपलब्धी भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश समितिका सदस्य विमला गुप्ता, गौरी शंकर गुप्ता, त्रिलोकी प्रसाद गुप्ता लगायतले शुभकामना मन्तव्य राखेका थिए । साहू तेली कल्याण सेवा समिति रुपन्देहीका अध्यक्ष रामबचन गुप्ताको अध्यक्षता तथा दुर्गा प्रसाद गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij