
आइतवार , आश्विन २१, २०८०
भैरहवा, २१ असोज ।
लोक सेवा आयोगका सह–सचिव डा. खगेन्द्र प्रसाद सुवेदीले नेपाल सरकारको निजामति तथा अन्य संस्थामा भविष्य खोज्न चाहनेलाई स्वदेशमै प्रशस्त अवसर रहेकोे बताएका छन् ।
भैरहवामा आयोजित लिडरसिप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै सुवेदी भने, ‘लोक सेवा आयोगले लिने परीक्षामा मिहिनेती र योग्य व्यक्तिले सफलता पाउँछन् । मनोविद समेत रहेका उनले तालिमका सहभागीहरुलाई जीवन जिउने कलाका सुत्रहरु प्रस्तुत गर्दै नेतृत्व क्षमता विकास गर्न उत्प्रेरित गरेको कार्यक्रमका संयोजक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी नितु थापाले बताइन् ।
तालिमको ८९ औ श्रृंखलाका प्रमुख अतिथि सामाजिक अगुवा तथा व्यवसायी मदन पौडेलले लिडरसीप स्किल्स डेभलपमेन्ट तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले विभिन्न जिम्मेवारीको भूमिका पाउने भएकाले यसप्रति थप आकर्षण बढ्दै गएको बताए । उनले भने, ‘तालिम कार्यक्रममा धेरै उच्च पोर्टफोलियोका व्यक्तित्वहरु सहजतापूर्वक आएर हौसला बढाउनुहुन्छ ,यसले प्रशिक्षार्थीहरुलाई थप उत्प्रेरित गराउँछ ।’
भैरहवास्थित एसियन बुद्ध होटलमा भएको तालिममा विभिन्न पेशाका ५० भन्दा बढी सहभागी थिए । प्रशिक्षार्थीहरुले आफनो जीवनकथा पनि प्रस्तुत गरेका थिए ।
नीतु थापाको स्वागत, सीता भण्डारीको धन्यवाद ज्ञापन तथा दीपक अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
लिडरसीप स्किल्स डेभलपमेन्ट तालिममा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन तर इच्छुकले योगदान गर्दछन् । ८९ औं श्रृंखलाको निम्ति स क बुटवल निवासी कमल सापकोटा तथा सिर्जना पाण्डेले सौजन्य गरी योगदान गरेको तालिम व्यवस्थापन समितिका सदस्य त्रिलोकी तेलीले बताए ।
विगतमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको हलमा सञ्चालन हँुदै आएको तालिम अहिले भैरहवास्थित एसियन बुद्ध होटलमा हुँदै आएको छ । तालिमको संस्थापक तथा प्रस्तोता उत्प्रेरक वक्ता विजय पाण्डे रहेका छन् । पाण्डे सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान महासचिव पनि हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij