
शनिवार , आश्विन २०, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रीक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा स्थानीय सरकार अपेक्षा र अवस्था नामक पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार घरगाँउमा पुराउने उदेश्यका साथ संघीय लोकतान्त्रीक व्यवस्था आएपनि त्यसमा प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका हुन् । स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी रहेको उनको भनाइ छ ।
राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रीक व्यवस्था बलियो हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले संघीयता सम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रुपमा कार्यान्व्यन हुन नसक्दा बिभिन्न आशंका पैदा हुने अवस्था आएको जिकिर गरे ।
लामो संघर्षपछि प्राप्त उपलव्धीलाई जनताको हितमा इमान्दारीका साथ लागू गरेको छ कि छैन भनेर समिक्षा गर्ने बेला आएको उनले बताए ।
उनले जनतामा सकारात्मक परिवर्तनको महशुस नहुदासम्म संघीय व्यवस्थाको औचित्य पुष्टि हुन नसक्ने धारणा राखे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij