
शनिवार , आश्विन २०, २०८०
विराटनगर, २० असोज ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिदैछन् । जसका लागि प्रदेश सभा सचिवालय भवन, विराटनगरमा उक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
यसअघि पनि मुख्यमन्त्री भएका कार्कीको सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) बाहिरिएपछि उनले विश्वासको मत पाउन सकेका थिएनन, जसका कारण उनी बाहिरिनुपरेको थियो ।
त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई–दुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश दिएको थियो । उक्त आदेशवाट पुनः मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । यसरी गठन भएको सरकारले संविधानको १६८ (४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकोले आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको आवाश्यक पर्दछ तर एमालेसँग जम्मा ४० मत मात्रै रहेको छ, थप मत अन्य दलबाट प्राप्त गर्नुपर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij