२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

दुर्घटना न्यूनीकरणका लागि चालक र सह–चालकलाई प्रशिक्षण

शुक्रवार , आश्विन १९, २०८०

बुटवल, १९ भदौ ।
झण्डै २ हजार ५ सय बस व्यवसायीहरु आबद्ध रहेको तथा ७ हजार ५ सय यातायात मजदूरहरुलाई रोजगारी प्रदान गर्न सफल पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापन प्रशिक्षणलाई तीव्रता दिएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीचालक तथा सह–चालकहरुका लागि आवश्यक प्रशिक्षण र उनीहरुको स्वास्थ्य परिक्षण पनि आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । 

चालकहरुलाई समय अनुकुल आवश्यक नीति, नियम र ज्ञानसहित उनीहरुको तनाव व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्ने कुरामा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुले जोड दिएका छन् ।

सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन सम्बन्धि अभियानलाई निरन्तर तीव्रता दिएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को आयोजनामा सम्पन्न चालक तथा सह–चालक प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरुले चालकहरुले आफ्नो स्वभाव र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने खाँचो पनि औंल्याए । 

प्रशिक्षण कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी चालकहरू जिम्मेवार हुनुपर्नेमा जोड दिइन् ।सवारीचालकहरुले छिटो गन्तव्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिष्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई आग्रह गर्दै निरीक्षक पाण्डेले सभ्य भाषा नम्र बोलीसहितको सेवा नै अचुक औषधि भएको बताइन् । उनले अपांग र आरक्षण सीट कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

अधिकांश सवारीसाधन फोहोर हुने गरेको भन्दै उनले आफूले दिनभर र रातभर चलाउने गाडी सफा छैन भने चालकको मनस्थिति कसरी सफा हुन सक्छ भन्दै प्रश्न गरिन् । 

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले सवारीचालक, सह–चालक, यात्रुहरु सबै जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा टेवा पुग्नुका साथै वर्षेनी हुने धनजनको क्षति समेत कम गर्न सकिने बताए । सार्वजनिक सवारीसाधन प्रयोगकर्ता सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिदै अध्यक्ष खरेलले नियमनकारी निकाय पनि कतिपय अवस्थामा सामाजिक र व्यवहारिक पक्षबाट दृष्टिकोण बनाउनुपर्ने बताए । 

कार्यक्रममा सुरक्षित यात्रा नेपालका अध्यक्ष तथा यातायात मजदूर नेता कृष्णप्रसाद बेलबासेले चालक तथा सह–चालकहरुले यात्रुहरुसँग नम्र व्यवहार गर्नुपर्ने जोड दिए । उनले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि प्रा.लि.ले जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए । 

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का संचालक तथा सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद घिमिरेले सवारीचालक तथा सह–चालकहरुले आफ्नो सीप, कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको व्यवहारमा सुधारको जरुरी रहेको बताए । 

कार्यक्रममा नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नरबहादुर रजाली, सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन समितिका सचिव जितेन्द्र खत्री, अधिकारकर्मी रीमा बिसी लगायतले बढ्दो दुर्घटना न्यूनीकरण र सरोकारवालाको भूमिकाबारे चर्चा गरेका थिए ।