
शुक्रवार , आश्विन १९, २०८०
काठमाडौं, १९ असोज ।
प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले अबको शिक्षाले विद्यार्थीलाई स्वदेशमै बसेर श्रमसँग जोड्न सक्ने गराउनुपर्ने बताएका छन् । संसदमा शुक्रबार टेबल भएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको सैद्वान्तिक छलफलमा भाग लिँदै उनले अबको शिक्षा कानूनले विद्यार्थीको विदेश पलायन रोक्न सक्नुपर्नेमा जोड दिए ।
आर्थिक वर्ष २०७९/८० देशको युवा उमेर समूहको ७ प्रतिशत विद्यार्थी विदेश भएको तथ्यांक उल्लेख गर्दै सांसद् घिमिरेले अब बन्ने विद्यालय शिक्षासम्बन्धी कानूनले विद्यार्थीमा स्वदेशमै श्रम गर्ने भावना र वातावरण निर्माण गर्नुपर्ने बताए । मुलुकलाई कता लैजाने, कस्तो नागरिक तयार गर्ने भन्ने कुराको सारभूत पक्ष विद्यालय शिक्षासँग जोडिने उल्लेख गर्दै सांसद् घिमिरेले यस्तो महत्वपूर्ण विधेयक संसदमा दर्ता गर्नुअघि सरोकारवालाहरुसँग सघन छलफल नगरेकोमा सरकारको आलोचना गरे ।
‘दर्ता गर्नुपूर्व सरोकारवालाहरुसँग सघन छलफल गरेको भए विधेयकलाई लिएर शिक्षकहरुको यत्ति ठुलो आन्दोलन हुने थिएन । सम्झौताअनुसारका विषयलाई समेटेर विधेयक संसदमा दर्ता गरेको भए सार्वभौम संसदको गरिमा उँचो हुने थियो’ उनले भने ।
शिक्षा विधेयकलाई लिएर शिक्षकहरुले गरेको आन्दोलन र गरिएको सम्झौताले सरकारको अपरिपक्वतालाई उदाङ्गो बनाएको उनको भनाइ छ । विद्यालय कानूनले सबै अभिभावक र विद्यार्थीले महसुस गर्ने गरी विद्यालय शिक्षालाई पूर्णतः निःशुल्क बनाउने गरी आवश्यक व्यवस्था मिलाउन सक्नुपर्ने बताउँदै उनले ‘नयाँ शिक्षा कानूनबाट सबै प्रकारका शिक्षक, कर्मचारीहरुले आफूलाई अन्याय भएको महसुस नगरुन् ।
‘स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिले आफ्नो अधिकार खोसिएको नठानून् । हामीले बनाउने कानूनले शिक्षामा खरबौ लगानी गरेको निजी क्षेत्रलाई निरुत्साहित नगरोस् । तर, निजी विद्यालय सरकारको नियन्त्रणमै चलून् । गुरुकुल, मदरसा, गुम्बा आश्रम लगायतका परम्परागत शैक्षिक संस्थाहरु व्यवस्थित बनुन्’ उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij